Skip to main content

चैत्र १६ को संघीय संसद्को अधिवेशन बोलाउने तयारी

समाचार संक्षेप

OK AI द्वारा तयार गरिएको। सम्पादकीय समीक्षा गरिएको।

  • निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरूको निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ।
  • नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरूको शपथ ग्रहण चैत्र १२ गते बिहान साढे ११ बजे तय गरिएको छ।
  • चैत्र १६ गते संघीय संसद्को पहिलो बैठक बोलाउने तयारी अघि बढिरहेको छ।

५ चैत्र, काठमाडौं। यसै चैत्र १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी तीव्र रूपमा अघि बढिरहेको छ।

निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यहरूको निर्वाचन प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ। यससँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन आह्वान गर्ने तयारी गरिरहेको छ।

बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो। उक्त छलफलमा प्रतिनिधिसभाका सदस्यहरूको शपथ ग्रहण र संसद् बैठक सञ्चालन सम्बन्धी विषयमा कुराकानी भएको थियो।

छलफल पश्चात् नवनिर्वाचित सदस्यहरूलाई यही चैत्र १२ गते शपथ ग्रहण गर्न निर्णय गरिएको छ। सो दिन बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ ग्रहण गर्नेछन्। त्यसै दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यहरूलाई पनि शपथ ग्रहण गराउनेछन्।

त्यसपछि सरकार गठनको प्रक्रिया अघि बढ्नेछ। १३, १४ र १५ गते सरकार गठन र सम्बन्धित कार्यहरू सम्पन्न गरिनेछन्।

चैत्र १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी भइरहेको छ। यो विषय सर्वदलीय बैठकमा पनि जानकारी गराइएको थियो।

संसद् सचिवालयका सहसचिव तथा प्रवक्ता एकराम गिरीले शपथ ग्रहण पछि अधिवेशन आह्वान गर्ने जानकारी दिइन्।

नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि शपथ ग्रहण पश्चात् सरकार गठन र त्यसपछि संसद् अधिवेशन आह्वान हुने विषयमा बृफिङ भएको जानकारी दिएका छन्।

‘१६ गते पहिलो बैठक बोलाउने विषयमा छलफल भएको छ। शपथपछि उपयुक्त मिति अनुसार संसद् सचिवालयले तयारी अगाडि बढाएको पनि बैठकमा बताइएको छ,’ मल्लले भने।

बिहीबारको सर्वदलीय बैठकमा पहिलो बैठकमा समावेश गरिने एजेण्डाहरूबारे पनि छलफल गरिएको थियो।

त्यस दिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूलाई भाषण गर्न चाहेको खण्डमा शुभकामना मन्तव्य दिन समय दिने लगायतका कार्यसूची समावेश रहने प्रचलन हुनेछ।