
नेपालको मध्यपहाडी क्षेत्रका किसानहरूलाई बाँदरको आतंकले मकै, धान र फलफूलजस्ता बालीनालीमा ठूलो क्षति पुर्याइरहेको छ र खेती छोड्नुपर्ने अवस्था आइरहेको छ। सरकारले रातो बाँदरलाई कृषि हानिकारक जनावर घोषित गरेर खेतबारीमा प्रवेश गरेमा लखेट्न पाउने व्यवस्था लागू गरेको भए तापनि समातेर मार्ने अधिकार दिइएको छैन। बाँदर नियन्त्रणका लागि दीर्घकालीन समाधानको रूपमा बाँदरको संख्या र प्रजनन अवस्थाबारे तथ्यांक संकलन गरी वैज्ञानिक बन्ध्याकरण आवश्यक छ। बाँदर र मानिसबीचको द्वन्द्व तीव्र भएको छ। एकातर्फ खेतीमा बाँदर पसेको संख्या बढेसँगै बाँदरलाई खोरमा थुन्ने र मार्ने क्रम पनि तेज भएको छ। यसले कसलाई चोट पुगेको छ र को अन्यायमा छ भन्ने स्पष्ट जवाफ छैन। दुवै पक्ष समस्याले ग्रसित छन्। किसानहरू आफ्नो मेहनतले उब्जाएको बालीनाली बाँदरले खाएपछि रिसाएका छन् भने बाँदरहरू पनि खाना खोज्दै मानवीय बस्तीतर्फ पस्न बाध्य छन्। जंगलमा खाना नपाएर बस्तीमा पस्ने बाँदरको यस्तो बाध्यतालाई बुझ्न किसानहरूमा अहिले धैर्यता अभाव छ।
नेपालका विभिन्न क्षेत्रहरूमा बाँदर समातेर खोरमा थुन्ने प्रक्रिया तीव्र रूपमा देखिन्छ। तर, के यसरी किसानहरूले आफ्नो बालीनाली जोगाउन प्रयोग गर्ने विधि सही हो? यो मात्र होइन, कुनै प्राणीमाथि गरिने यस्तो व्यवहार कति न्यायपूर्ण र मानवीय छ भन्ने प्रश्न पनि छ। अब के गर्ने? बाँदर व्यवस्थापनका लागि के वैज्ञानिक र मानवीय उपायहरू छन् जसले किसानको बालीनाली जोगाउन सघाउ पुर्याउन सकून्? यस विषयमा हामीले त्रिभुवन विश्वविद्यालयका प्राणीशास्त्र केन्द्रीय विभागका प्राध्यापक तथा वन्यजन्तुविज्ञ डा. लक्ष्मण खनालसँग कुराकानी गरेका छौँ। बाँदरले किसानहरूको खेतीबालीमा ठूलो क्षति पुर्याएको भन्दै विभिन्न गुनासोहरु आइरहेका छन्। नेपालका कस्ता क्षेत्रहरू बढी प्रभावित छन्? रातो बाँदरले बालीनालीमा धेरै नोक्सानी पुर्याएको भन्दै ‘बाँदरको आतंक’ शब्द प्रचलित छ। यो समस्या विशेष गरी नेपालको मध्यपहाडी क्षेत्रका जिल्लामा अत्यधिक देखिन्छ। पूर्वी क्षेत्रका इलाम, पाँचथर, भोजपुरदेखि पश्चिमी क्षेत्रका बैतडीसम्मका मध्यपहाडी जिल्लाहरू सबैभन्दा बढी प्रभावित क्षेत्रहरू हुन्।





