
१५ वैशाख, काठमाडौं। नेपाल धितोपत्र बोर्डको अध्यक्ष पदमा नियुक्तिका लागि आवेदन खुलाइएको छ। सरकारले गठन गरेको सिफारिस समितिले सार्वजनिक सूचना जारी गर्दै अध्यक्ष पदका लागि आवेदन आव्हान गरेको हो। यसअघि वैशाख ४ गते बोर्ड अध्यक्ष सन्तोष श्रेष्ठले राजीनामा दिएका थिए।
बोर्ड अध्यक्ष पदका लागि आवेदन गर्न चाहने व्यक्तिले ७ दिनभित्र अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखा, सिंहदरबारस्थित समितिको सचिवालयमा व्यक्तिगत विवरण पेश गर्न सक्नेछन्।
आवेदनकर्ताले मान्यताप्राप्त विश्वविद्यालयबाट स्नातकोत्तर उपाधि प्राप्त गरेको हुनुपर्नेछ र धितोपत्र बजार व्यवस्थापन, पूँजी बजार विकास, आर्थिक वित्तीय, वाणिज्य व्यवस्थापन वा कानुन क्षेत्रमा कम्तीमा ७ वर्षको योग्य पेशागत अनुभव आवश्यक हुनेछ।
उमेर कम्तीमा ३० वर्ष र बढीमा ६५ वर्ष नाघेको नहुनुपर्नेछ। भ्रष्टाचारजन्य, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, लागु औषध कारोबारजस्ता फौजदारी कसूरमा दोषी ठहरिएका व्यक्ति अध्यक्ष पदका लागि अयोग्य हुनेछन्।





