Skip to main content

खाली पारेको जग्गामा हरियाली विस्तार अत्यावश्यक

सरकारले हालै काठमाडौंमा बागमती, मनोहरा, धोबीखोला नदी किनार र अन्य क्षेत्रहरूमा सरकारी जग्गामा अतिक्रमण गरी निर्मित घर, टहरा लगायतका विभिन्न संरचनाहरू हटाएर जग्गा खाली गराएको छ। यसरी खाली गरिएका स्थानहरूको सदुपयोग गर्ने तरिका के हुन्छ भन्ने विषयमा सर्वसाधारणमा चासो बढेको छ। दीर्घकालीन रूपमा काठमाडौंलाई वातावरणीय रूपमा सफा र बस्नयोग्य शहरको रूपमा विकास गर्न यो अवसर अत्यन्त उपयोगी हुन सक्छ। खुलेआम हरित क्षेत्रहरूको कमी रहेको काठमाडौंमा हरियाली विस्तार गर्नु सबैभन्दा कम खर्चिलो र छिटो सुरु गर्न सकिने प्रभावकारी उपाय बन्न सक्छ। शहरी क्षेत्रमा वन तथा हरियालीले आवरण गरिएको क्षेत्रलाई समग्रमा ‘हरित क्षेत्र’ वा ‘शहरी वन’ भनिन्छ। यसले पार्क, सडक किनार, नदी किनार, कार्यालय परिसर तथा अन्य सार्वजनिक खुला क्षेत्रसँगै निजी घरहरूको परिसरमा रहेका रूख, फलफूलका बिरुवा र घाँस वा दुबोले ढाकिएका क्षेत्रहरू समेटिएको छ।

विश्वका उत्कृष्ट हरित क्षेत्र भएका शहरहरूमा क्यानाडाको भ्यानकुभर, डेनमार्कको कोपनहेगन, सिङ्गापुर, अस्ट्रियाको भियना र नेदरल्यान्ड्सको एम्स्टर्डम प्रमुख छन्। एशियाली देशहरू मध्ये चीनले ‘फरेस्ट सिटिज’ मोडेल, सिङ्गापुरले ‘सिटी इन द गार्डेन’, र जापानले ‘कम्प्याक्ट हरित शहर’ नीति अंगीकार गरेका छन्। शहरी क्षेत्रका हरित क्षेत्रहरूको वातावरणीय, आर्थिक र सामाजिक दृष्टिले अत्यन्त महत्वपूर्ण भूमिका छ। तापक्रम घटाउने, वायु प्रदूषण कम गर्ने, छायाँ प्रदान गर्ने, डुबान समस्या न्यूनिकरण गर्ने, जैविक विविधता प्रवर्द्धन गर्ने, शारीरिक र मानसिक स्वास्थ्य सुधार्नका साथै सामाजिक सम्बन्ध विस्तार गर्नका लागि हरियालीको योगदान अमूल्य छ।

पार्क वा हरियाली क्षेत्र वरिपरिका घर जग्गाको मूल्य अन्य ठाउँहरूमा भन्दा बढी हुन्छ। अध्ययनहरूले देखाएका छन् कि रूखबिरुवा भएको क्षेत्रमा घरको मूल्य सात प्रतिशतसम्म र पार्क नजिकै अवस्थित क्षेत्रमा २० प्रतिशतसम्म बढी हुन्छ। हरित क्षेत्रमा बसोबास गर्ने व्यक्तिहरू छिटो रोगमुक्त हुन्छन्। अल्जाइमर र डिमेन्सियाजस्ता रोगहरूमा पनि हरित क्षेत्रले सकारात्मक समर्थन पुर्याउने तथ्य प्रकाशमा आएको छ। हरित क्षेत्र भएका स्थानहरूमा लुटपाट लगायतका सामाजिक अपराधका घटनाहरू पनि न्यून हुन्छन्। यसले शहरको सौन्दर्य अभिवृद्धि गर्ने र आन्तरिक तथा बाह्य पर्यटन प्रवर्द्धनमा पनि मद्दत पुर्याउँछ। त्यसैले, काठमाडौंलाई सफा, हराभरा र बस्नयोग्य शहर बनाउन सम्बन्धित स्थानीय तहहरू मार्फत खाली गरिएका अतिक्रमित क्षेत्रमा खेलकुद, शारीरिक व्यायाम, विश्राम तथा मनोरञ्जनका आधुनिक पार्कहरू निर्माण गर्नु उपयुक्त हुनेछ।