हुम्लामा कुकुरमाथि निर्दय यातना दिने घटनामा प्रहरीले प्रारम्भिक अनुसन्धान जारी
हुम्लाको सिमकोट विमानस्थल नजिक एक कुकुरमाथि निर्दयतापूर्वक यातना दिई हत्या गरिएको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि व्यापक विरोध प्रदर्शन भइरहेको छ। उक्त वीभत्स भिडियोले सामाजिक सञ्जालका प्रयोगकर्ताहरूलाई आक्रोश र स्तब्ध बनाएको छ। आइतबारदेखि भाइरल भएको उक्त भिडियो टुक्रिएर विभिन्न प्लेटफर्ममा फैलिएको छ। टिकटकमा ‘bibek.sunar790’ नामक ह्यान्डलबाट आइतबार बिहान १०:४८ बजे उक्त भिडियो पहिलो पटक पोस्ट गरिएको देखिन्छ।
भिडियोमा देखिन्छ कि असहाय कुकुरलाई डोरीले बाँधेर डाँडाको ठूलो ढुंगाबाट झुन्ड्याइएको छ। माथिबाट निर्दयी रूपमा ढुंगा खसाल्ने दृश्यले क्रूरता उजागर गरेको छ। केही समयपछि सोही ह्यान्डलबाट अर्को भिडियो अपलोड गरिएको छ, जसमा कुकुरको निधन भइसकेको देखिन्छ। पहिलो भिडियोमा विमानस्थलको पृष्ठभूमि र एउटा बालक पनि देखिन्छ। पृष्ठभूमिमा ‘जन्म मृत्यु संसारकै रीत हो साथी आज अमर बनाइदेउ..’ बोलको गीत बजाएर घटनालाई एक प्रकारको उत्सवझैं प्रस्तुत गरिएको छ।
घटना कहाँ भयो भन्ने विषयमा खोजी गर्दा उक्त भिडियो हुम्लाको सिमकोट विमानस्थल आसपासको क्षेत्रमा बनाइएको तथ्य भेटियो। स्थान पत्ता लगाएपछि जिल्ला प्रहरी कार्यालय हुम्ला, सिमकोटसँग सम्पर्क गरियो। स्थानीय प्रशासनले यस घटनाबारे बेखबर रहेको देखियो। जिल्ला प्रहरी कार्यालय हुम्लाका प्रहरी सहायक निरीक्षक जङ्गबहादुर घर्तीले घटनाबारे आफूहरूले जानकारी पाइसकेको र अनुसन्धान भइरहेको बताए। सामग्री तयार पार्दासम्म उक्त भिडियोलाई १ लाख ६० हजार बढीले हेरेका छन् भने ७०० भन्दा बढी टिप्पणी आएका छन्, जसमा अधिकांशले दोषीलाई कडा कारवाही गर्नुपर्ने आवाज उठाएका छन्।
