
हामीलाई कुनै नामको साँघुरो कोठामा बन्द नगर्नुहोस्। हामी त्यो हावा हौँ जसले हिमालको चिसोपन लिएर तराईका सुनौलो फाँटसम्म स्नेहको हरियाली फैलाउँछ। हामीलाई कुनै धर्मको पर्खालभित्र कैद नगर्नुहोस्। हिन्दू, मुस्लिम, बौद्ध, इसाई, किराँती सबैलाई साँघुरो घेराभित्र टुक्र्याएर नहेरिदिनुहोस्। किनभने हामीले देखेका छौँ—पशुपतिमा आरतीबाट उठेको धुवा र मस्जिदको अजानबाट उठेको स्वर एउटै नीलो आकाशको काखमा उठेका छन्। हामीले गुम्बाका प्रार्थना–चक्रहरू अनन्त करुणाको लयमा घुमिरहेको देखेका छौँ। हामीले चर्चका घण्टीहरू समयसँगै आशाको धुन बजाएको सुनेका छौँ। तर उज्यालो कहिल्यै एउटै ढोका बाट मात्र उदाएको देखिएका छैन।
हामीलाई जातका अक्षरले नलेख्नुहोस्। किनकि पहाडमा फुलेको गुराँसर र मधेसमा झुलेको धानको बालाले एकअर्काको थर सोध्दैनन्। कोशी, गण्डकी, कर्णालीले पनि आफ्नो मूलको अहंकार बोकेका छैनन्। हाम्रो परिचय हाम्रो थरभन्दा पुरानो छ। हाम्रो इतिहास हाम्रो जातभन्दा विशाल छ। यो माटोले हामीलाई सिकाएको पहिलो अक्षर घृणा थिएन, प्रेम थियो। यही माटोमा लुम्बिनीले करुणालाई जन्म दियो, जनकपुरले मर्यादालाई, पशुपतिनाथले सहिष्णुताको मौन दीक्षा दिए, सगरमाथाले मानिसको शिरभन्दा पहिले उसको स्वाभिमान अग्लो हुनुपर्छ भनी आकाशलाई सम्झायो।
यही माटोले सीताको धैर्य, बुद्धको करुणा, भृकुटीको मैत्री, अरनिकोको सिर्जना, पृथ्वी नारायणको एकतार वीर गोर्खालीको साहस संसारभरि उज्यालो बनेर फैलायो। त्यही उज्यालो आज पनि हिमालको हिउँमा उज्यालो भएर फैलिएको छ, नदीका छालहरूमा गुञ्जिरहेको छ, बालकका निर्मल आँखाहरूमा भोलिको आशा भएर चम्किरहेको छ। तर पनि किन हामी आफैले आफ्नो आकाश च्यात्दैछौँ? हामी त एउटै माटोका सन्तान हौँ। हाम्रो रगतमा हिमालको चिसोपन पनि छ, पहाडको सुवास पनि छ, र तराईको गर्मी पनि छ।
हामी जहाँ उभिन्छौँ, त्यहाँ नेपाल उभिएको हुन्छ। हामी जहाँ श्वास फेर्छौँ, त्यहाँ नेपालीपन श्वास फेर्दैछ। त्यसैले—हामीबाट धर्म नखोस्नुहोस्, किनभने धर्मभन्दा ठूलो मानवता छ। हामीबाट भाषा नखोस्नुहोस्, किनभने भाषाभन्दा ठूलो आत्मीयता छ। हामीबाट इतिहास नखोस्नुहोस्, किनभने इतिहासभन्दा ठूलो भोलिको साझा सपना छ। र धर्मका नाममा, भाषाका नाममा, जातका नाममा, रङका नाममा—हाम्रो देश झन् कहिल्यै नखोस्। किनभने देश गुमाएपछि न परिचय बाँच्छ, न स्मृति, न भविष्य। अब कुनैले हाम्रो परिचय सोधे, गर्वले यति मात्र भन्न सकौँ—हामी नेपाली हौँ। नेपाली भएरै अग्लिरहौँ, मानौं हामी आफैँ हौँ हिमाल। जब हाम्रा आँखा अन्तिमपटक बन्द हुनेछन्, त्यतिबेला हाम्रो सिरानी होस् हाम्रो नेपाल।





