
२० वैशाख, काठमाडौं। नेपाली कांग्रेसका सभापति गगन थापाले सत्य लेख्ने आधारमा सञ्चारकर्मीले डराउन नपर्ने वातावरण सिर्जना गर्नु सबैको साझा कर्तव्य भएको बताएका छन्। विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा आइतबार बिहान सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै सभापति थापाले स्वतन्त्र र निर्भीक प्रेसलाई लोकतन्त्रको मुख्य आधार स्तम्भको रूपमा महत्व दिएका छन्। ‘लोकतन्त्रको आधार स्तम्भ नै स्वतन्त्र र निर्भीक प्रेस हो। तर आजको बदलिँदो समयमा सूचना सङ्कलन र सत्यको खोजी गर्ने कार्य चुनौतीपूर्ण हुँदै गएको छ,’ उनले भने।
बदलिंदो समयमा सूचना सङ्कलन र सत्यको खोजी कार्य थप चुनौतीपूर्ण भएको उल्लेख गर्दै उनले थपे, ‘कतिपय अवस्थामा देखिने असुरक्षा र दबाबका बाबजुद पनि सत्यको पक्षमा उभिएका सञ्चारकर्मी साथीहरूमा हार्दिक सम्मान व्यक्त गर्दछु।’ प्रेस स्वतन्त्रतालाई कुनै एक व्यक्ति वा संस्थामाथि हुने प्रहारको रूपमा नभई नागरिकको सुसूचित हुने अधिकारको रूपमा लिनुपर्नेमा उनले जोड दिएका छन्। सभापति थापाले सम्पूर्ण सञ्चारकर्मीलाई विश्व प्रेस स्वतन्त्रता दिवसको शुभकामना दिएका छन्।





