Skip to main content

अध्यक्ष शर्मा: सरकारले प्रेस स्वतन्त्रताको संरक्षण गर्ने विश्वस्तता कायम राख्न सकेको छैन

२० वैशाख,काठमाडौं। नेपाल पत्रकार महासंघ की अध्यक्ष निर्मला शर्माले हालको सरकारले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षणमा गम्भीर शंका व्यक्त गरेकी छन्। प्रेस स्वतन्त्रता दिवसको अवसरमा जारी शुभकामना सन्देशमा अध्यक्ष शर्माले पछिल्लो समय पत्रपत्रिका र मिडियाप्रति लक्षित घटनाहरूमा वृद्धि भएका विषय उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको प्रेस स्वतन्त्रताको संरक्षणमा सरकारले विश्वस्त भएर प्रतिबद्धता देखाउन नसकेको बताइन्। ‘हाल रास्वपाको नेतृत्वमा रहेको सरकारले पनि संविधानमा उल्लेखित प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको संरक्षण, जनताको मौलिक अधिकारको सुनिश्चितता र लोकतान्त्रिक संस्कृतिको संरक्षण गर्ने हो भन्नेमा महासंघ शङ्कित छ,’ उनले भनिन्।

अध्यक्ष शर्माले प्रेस स्वतन्त्रता हाल थप जटिल बन्दै गएको उल्लेख गर्दै देशका विभिन्न व्यवसायिक संगठन र नागरिक अगुवाहरूसँग अभिव्यक्ति स्वतन्त्रता संरक्षणमा ऐक्यबद्धता आवश्यक रहेको बताइन्। महासंघको सञ्चार अनुगमन एकाइले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष ०८२ मा कुल १३१ वटा प्रेस स्वतन्त्रता हननका घटनाहरू भईसकेका छन्, जसमा गत वर्ष ७३ र त्यसअघिका वर्षमा ६२ वटा थिए। प्रत्येक वर्ष यी घटनाहरू क्रमशः बढ्दै गएका छन्। अर्कोतर्फ पत्रकार र सञ्चारमाध्यममाथि ३० वटा आक्रमणका घटना, पेशागत सुरक्षा सम्बन्धी १८, कब्जा र अवरोधका २६, नीतिगत प्रतिबन्ध ३ र पत्रकार पक्राउ परेकामा २ जना रहेका छन् भने १ जना पत्रकारको शंकास्पद मृत्यु भएको पनि जानकारी दिइएको छ।

जेनजी आन्दोलनका क्रममा सञ्चार माध्यमहरूमा करोडौँ रुपैयाँ क्षति पुगेको र पाँच जना पत्रकार मुठभेडका क्रममा गोली लागेपछि प्रेस स्वतन्त्रता अझ चुनौतीपूर्ण भएको अध्यक्ष शर्माले जानकारी दिइन्। पत्रकारविरुद्ध भएका अपराधमा दण्डहीनता, सञ्चार माध्यमहरूको कमजोर आर्थिक अवस्था, पत्रकारहरूको पेशागत तथा भौतिक सुरक्षामा जोखिम रहेको लगायतका कारणहरूले प्रेस स्वतन्त्रता अझ संकटग्रस्त बन्न पुगेको उनले बताइन्। साथै सञ्चार क्षेत्रमा आर्थिक संकट, पत्रकारहरूको पलायन, निजी सञ्चारमाध्यमहरूमा सरकारी विज्ञापन र सूचना प्रतिबन्ध लगाउनु र सामाजिक सञ्जालमा फैलिरहेको गलत सूचनासँग जुध्नु जस्ता चुनौतीहरू सामना गर्नुपर्ने उनको भनाइ छ।