
१२ जेठ, काठमाडौं । प्रमुख विपक्षी दल नेपाली कांग्रेसले सभामुख डोलप्रसाद अर्यालको क्षमता सम्बन्धमा प्रश्न उठाएको छ। प्रतिनिधिसभाको बैठकमा नेपाली कांग्रेसका सांसद अभिषेक प्रताप शाहले प्रधानमन्त्री बालेन्द्र शाहलाई सदनमा उपस्थित गराउन किन रुलिङ नगरिएको भनेर प्रश्न गरेका छन्। ‘प्रधानमन्त्रीमाथि रुलिङ गर्ने अधिकार तपाईंलाई छ। कुनै पनि मन्त्री, प्रधानमन्त्री र सांसदलाई रुलिङ गर्ने अधिकार तपाईंको छ। त्यो अधिकार प्रयोग गर्नलाई कसले रोकेको छ?’ शाहले बताए। यसै क्रममा उनले सभामुखको क्षमतामाथि समेत प्रश्न उठाएका छन्। ‘यो सदन जान्न चाहन्छ, तपाईंलाई रुलिङ अधिकार प्रयोग गर्न कसले रोक्यो? कसले छेक्यो?’ शाहले भने, ‘तपाईं कार्यपालिकाप्रमुख प्रधानमन्त्रीलाई सदनप्रति जवाफदेह बनाउन सक्नुहुन्न र?’ यस विषयमा समग्र नेपालले जवाफ चाहिरहेको उनले बताए। सभामुखबाट रुलिङ गरि प्रधानमन्त्रीलाई सदनमा उपस्थित गराउनुपर्ने उनको आग्रह पनि छ। जवाफमा सभामुख अर्यालले प्रधानमन्त्री संसद्मा आउने तयारी गरिरहेका बताएका छन्। उनले छिट्टै प्रधानमन्त्रीले सदनमा आएर जवाफ दिने विषय बारम्बार दोहोर्याए। ‘माननीय सदस्यहरूले मिति माग्नुभएको छ। मिति, समय। सदन चलेकै दिन सम्माननीय प्रधानमन्त्रीज्यू आउनुहुनेछ। म सदन चलेकै दिन सम्माननीयज्यूलाई बोलाउँछु’ सभामुख अर्यालले भने। प्रधानमन्त्रीले समय तोक्नासाथ त्यसको सूचना सदनलाई दिने उनले बताए।
