
७ चैत, स्याङ्जा। स्याङ्जाको गल्याङ नगरपालिका–१ मालुङ्गा बसिन्डाँडामा एक चितुवा मृत फेला परेको छ। स्थानीयले देखेपछि प्रहरी र वन कार्यालयलाई खबर गरेपछि यो घटना सार्वजनिक भएको हो।
गल्याङस्थित कालीगण्डकी सवडिभिजन वन कार्यालयका अनुसार करिब एक वर्ष उमेरको चितुवा शुक्रबार दिउँसो फेला परेको हो। वन अधिकृत सुमन केसीका अनुसार चितुवा केही दिनअघि नै मरेको हुनसक्ने अनुमान गरिएको छ।
प्रारम्भिक निरीक्षणमा चितुवाको शरीरमा बाहिरी चोटपटक वा आक्रमणका कुनै स्पष्ट संकेत नदेखिएको वन कार्यालयले जनाएको छ। ‘मानिस वा अन्य जनावरको आक्रमणबाट मरेको जस्तो देखिँदैन, अन्य कारण हुनसक्छ’, वन अधिकृत केसीले बताएका छन्।
घटनास्थलमा स्थानीय जनप्रतिनिधि, प्रहरी र बासिन्दाको उपस्थितिमा मुचुल्का तयार गरी चितुवाको शव व्यवस्थापन गरिएको छ। वन कार्यालयले घटनाको कारणबारे थप अनुसन्धान गर्ने बताएको छ।





