Skip to main content

लागुऔषध सहित एक भारतीयसमेत पाँच जना पक्राउ


७ चैत, काठमाडौं। नेपाल प्रहरीले लागुऔषध नियन्त्रण ब्यूरो मार्फत खैरो हेरोइन र चरेस सहित पाँच जनालाई विभिन्न घटनामा पक्राउ गरेको छ। ब्यूरोको जानकारी अनुसार दुई फरक घटनामा पाँच जनालाई नियन्त्रणमा लिइएको हो।

ब्यूरोका प्रवक्ता दुर्गाराज रेग्मीका अनुसार, पहिलो घटनामा काठमाडौंका विद्यालय र कलेजमा अध्ययनरत विद्यार्थीहरूलाई पनि लागुऔषध बिक्री भइरहेको सूचना पाएपछि ललितपुरबाट एक महिला पक्राउ परेकी छिन्।

पक्राउ परेकी महिलाको नाम कल्पना तामाङ हो, जो मकवानपुरको थाहा नगरपालिका–११ की ३८ वर्षीया महिला हुन्। उनको कब्जाबाट २ किलो ३०० ग्राम चरेस र डिजिटल तराजु बरामद भएको ब्यूरोले जनाएको छ।

त्यसैगरी अर्को घटनामा भारतबाट काठमाडौंमा खैरो हेरोइन ल्याएर बिक्री भइरहेको भन्ने सूचना आएपछि खटिएको टोलीले काठमाडौं महानगरपालिका–१५, कारखाना चोकबाट तीन जनालाई पक्राउ गरेको छ। उनीहरू सिन्धुपाल्चोक सुनकोशी–५ का ३१ वर्षीय विशाल श्रेष्ठ, चौतारा–७ का ३९ वर्षीय अर्जुन थापा र काभ्रे तेमाल–८ का ३० वर्षीय सागर तामाङ रहेका छन्। उनीहरूको नियन्त्रणबाट ३७ ग्राम ४०० मिलिग्राम खैरो हेरोइन र डिजिटल तराजु बरामद भएको प्रहरीले जानकारी दिएको छ।

अर्थात्कै सो घटनाको थप अनुसन्धानका क्रममा उनीहरूलाई भारतको बिहारबाट खैरो हेरोइन ल्याउने जिम्मेवारी दिने बिहार अररिया फारबिसगन्जका २५ वर्षीय विपुल बर्मालाई पनि ब्यूरोले पक्राउ गरेको छ। उनको नियन्त्रणबाट १०० ग्राम खैरो हेरोइन फेला परेको बताइएको छ।