रास्वपालाई ‘काम लाग्नसक्छ’ भन्दै बाबुरामले सम्झाए आफ्नो १८ महिनाको सरकारका उपलब्धि

९ चैत, काठमाडौं । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले राष्ट्रिय स्वतन्त्र पार्टीको सरकारलाई विगतका सरकारले सुरु गरेका राम्रा अभ्यासहरू उपयोगी हुनसक्ने बताएका छन्। सोमबार फेसबुकमार्फत भट्टराईले रास्वपा सरकारलाई सन्दर्भ सामग्रीका रूपमा विगत सरकारका राम्रा अभ्यास उपयोगी हुनसक्ने बताएर आफ्नो नेतृत्वको १८ महिनाको सरकारका कामका बारेमा सम्झना गराएका छन्।
‘नेपाली राजनीतिको ऐतिहासिक पुस्तान्तरणसहित नवोदित रास्वपाको सुविधाजनक एकमना सरकारले देशको नेतृत्व सम्हाल्दा आम जनता र विशेष गरी युवापुस्ताका आकांक्षा चुलिनु स्वाभाविक छ,’ भट्टराईले लेखेका छन्, ‘यस सन्दर्भमा नयाँ बन्ने सरकारले समयबद्ध ढंगबाट कार्यान्वयनका लागि आफ्ना कामका प्राथमिकता निर्धारण गरिरहेकै छ।’
त्यसकै लागि विगतका सरकारले सुरु गरेका कतिपय राम्रा अभ्यासहरू उपयोगी सन्दर्भ सामग्री हुनसक्नेमा उनले जोड दिएका छन्। ‘तीमध्ये मेरो नेतृत्वको विशिष्ट कालखण्डको छोटो अवधि (१८ महिना)को सरकारका प्रमुख काम र उपलब्धिहरू केही काम लाग्नसक्छन्,’ भट्टराईले लेखेका छन्।
विशेष गरी सुशासन, भ्रष्टाचार निवारण र पारदर्शिताको क्षेत्रमा आफ्नो सरकारका पालामा सुरु गरिएका हेलो सरकार, जनतासँग प्रधानमन्त्री, संवैधानिक निकायमा नियुक्ति प्रक्रियामा सुधार, संस्थान निर्देशकीय बोर्ड गठन जस्ता अभ्यासहरू रास्वपाका लागि उपयोगी हुने भट्टराईको दावी छ।
‘त्यसै गरी तीव्र आर्थिक रूपान्तरण र समृद्धिका लागि गरिएका पहलहरू जस्तै लगानी बोर्ड, बिप्पा सम्झौता, राष्ट्रिय गौरवका आयोजना, जरिव industriहरूको पुनर्स्थापना, विशेष आर्थिक क्षेत्र, काठमाडौं उपत्यका विकास प्राधिकरण, वैज्ञानिक भूमिसुधारका तयारी, भू–उपयोग नीति निर्माण र कार्यान्वयन, गरिबीको पहिचान र परिचयपत्र, राष्ट्रिय स्वयंसेवा अभियान आदिलाई परिमार्जन र प्राथमिकतासहित अघि बढाउन सकिन्छ,’ भट्टराईले अगाडि लेखेका छन्।





