
१३ चैत, काठमाडौं। नवगठित सरकारको पहिलो मन्त्रीपरिषद्को बैठकका निर्णयहरू सार्वजनिक गरिएको छ।
जेनजी आन्दोलन सम्बन्धी जाँचबुझ आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायत चारवटा निर्णयहरूको जानकारी सरकारका प्रवक्ता समित पोखरेलले दिएका छन्।
आजै प्रधानमन्त्री नियुक्त भएका बालेन शाहले पहिलो मन्त्रीपरिषद् बैठक आह्वान गरेका थिए।
उक्त बैठकले गौरीबहादुर कार्की अध्यक्षतामा गठित आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने लगायतका निर्णयहरू गरेको उनले बताए।
बैठकका निर्णयहरू यसप्रकार रहेका छन् :
– भदौँ २३ र २४ मा भएको जेनजी आन्दोलन तथा अघिल्ला विभिन्न आन्दोलनका सम्पूर्ण ज्ञात र अज्ञात शहिदहरूलाई सम्मान र श्रद्धाञ्जली व्यक्त गर्ने।
– नेपाल सरकारको प्रवक्ता पदमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रीलाई नियुक्त गर्ने।
– सरकारको शासकीय सुधारका सय वटा कार्यसूची स्वीकृत गर्ने (भोलि सम्म प्रकाशन गर्ने)।
– भदौँ २३ र २४ गतेका प्रदर्शन घटनाहरू सम्बन्धी जाँच गर्न गौरीबहादुर कार्कीको अध्यक्षतामा गठन गरिएको आयोगले नेपाल सरकार समक्ष पेश गरेको प्रतिवेदन कार्यान्वयन गर्ने, जसअन्तर्गत:
- पहिलो, आयोगले सिफारिस गरेको व्यक्ति र निकाय मध्ये सुरक्षा संयन्त्रसम्बन्धी अध्ययन समिति गठन गरी सो समितिले दिएको सिफारिस अनुसार अघि बढाउने।
- दोस्रो, अन्य सिफारिसहरू तत्काल कार्यान्वयन गर्ने।





