Skip to main content

सट्टेबाजी एप र वेबसाइटहरू बन्द गर्ने प्रक्रिया शुरु

समाचार अनुसार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एपहरू २४ घण्टाभित्र बन्द गर्न नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। मन्त्रिपरिषद्को चैत १३ गतेको बैठकले अवैध अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो। सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाले डिजिटल शासन र डेटा सञ्चालनमा केन्द्रित भएर सेवा चुस्त र प्रभावकारी बनाउन निर्देशन दिनुभएको छ।

१५ चैत, काठमाडौं। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले अनलाइन सट्टेबाजी एप (बेटिङ एप) २४ घण्टाभित्र बन्द गर्न नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको छ। सञ्चार मन्त्री डा विक्रम तिमिल्सिनाको अध्यक्षतामा आइतबार मन्त्रालयका सचिवसहित महाशाखा प्रमुखहरुसँगको बैठकमा मन्त्री तिमिल्सिनाले बेटिङ एप र सम्बन्धित वेबसाइटहरू बन्द गर्न तुरुन्त निर्देशन दिएसँगै प्राधिकरणले बन्द गर्ने प्रक्रिया सुरु गरेको हो।

सञ्चार मन्त्रीको निर्देशनपछि मन्त्रालयले बेटिङ बन्द गर्न दूरसञ्चार प्राधिकरणलाई पत्राचार गरेको हो। बेटिङ बन्दका लागि अपरेटर्सलाई निर्देशन दिई बन्द प्रक्रिया थालिएको प्राधिकरणका सहायक प्रवक्ताले जानकारी दिएका छन्। मन्त्रिपरिषद्को यही चैत १३ गतेको बैठकले अवैध रूपमा सञ्चालित अनलाइन बेटिङ बन्द गर्ने निर्णय गरेको थियो।

त्यसपछि सञ्चार मन्त्री डा तिमिल्सिनाले मन्त्रालय र सम्बन्धित निकायहरूलाई समन्वय गरी तत्परता देखाउँदै तुरुन्त कारबाही प्रक्रिया अघि बढाउनुभएको छ। मन्त्रिपरिषद्को स्वीकृत १०० बुँदे शासकीय सुधार कार्यसूचीअनुसार सरकारले देशभित्र सञ्चालित सबै सट्टेबाजी एप तथा वेबसाइटलाई २४ घण्टाभित्र पूर्ण रूपमा बन्द गर्ने निर्णय गरेको छ। अवैध आर्थिक कारोबार र पुँजी पलायन रोक्न सरकारले यो निर्णय गरेको बताइएको छ।