Skip to main content

उज्वल थापाको डकुमेन्ट्री ‘दिमाग घोच्ने मान्छे’ डिगो ओटीटीमा सार्वजनिक

१९ चैत, काठमाडौं । स्वर्गीय उज्वल थापाको जीवनमाथि बनेको वृत्तचित्र ‘दिमाग घोच्ने मान्छे’ आजदेखि डिगो (डिसहोम गो) ओटीटी प्लेटफर्ममा सार्वजनिक भएको छ। गत २५ पुसमा सिनेमा हलमा प्रदर्शन गरिएको यो वृत्तचित्र अब ओटीटीमार्फत पनि हेर्न सकिने भएको छ। निर्माण पक्षका अनुसार, यस वृत्तचित्रबाट प्राप्त हुने मुख्य आम्दानी उज्वल थापा फाउन्डेसनलाई प्रदान गरिनेछ। फाउन्डेसनले उज्वल थापाले शुरु गरेका सामाजिक तथा नागरिक अभियानहरूलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।
वृत्तचित्रले उज्वल थापाको बाल्यकाल, अमेरिकामा उनको अध्ययन तथा नेपाल फर्केपछि वैकल्पिक राजनीतिका लागि गरेको संघर्षलाई व्यापक रूपले प्रस्तुत गरेको छ। दुर्लभ भिडियो फुटेजसहित उनका साथी, सहयात्री र आलोचकहरूको अन्तर्वार्ताबाट यो दस्तावेजी तयार गरिएको छ। ओटीटीमा हेर्नका लागि नेपालस्थित दर्शकहरूलाई १९९ रुपैयाँ, अमेरिका र अष्ट्रेलियामा ४.९९ डलर शुल्क तिर्नुपर्नेछ भने अन्य विश्वका दर्शकहरूका लागि २.९९ डलर तोकिएको छ।