
२२ चैत, प्युठान। ऐरावती गाउँपालिका-१ छेडाघाटस्थित बस्तीमा आगलागी भएको छ। स्थानीय लक्ष्मण रानको फुसले छाएको कच्ची गोठबाट सुरु भएको आगो बस्तीमा फैलिएको प्रहरीले जनाएको छ। आगलागी नियन्त्रणका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी नरहरी अधिकारीसहित इलाका प्रहरी कार्यालय बिजुवार र प्रहरी चौकी दाङवाङबाट ३० जनाको टोली खटिएको थियो। शनिबार राति पौने १२ बजे सुरु भएको आगलागी नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयहरूको सहयोगमा बिहान ७ बजे मात्र नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय प्युठानका सूचना अधिकारी प्रहरी निरीक्षक हरि भट्टराईले जानकारी दिए। आगलागीबाट बस्तीका १३ घरपरिवारका घरगोठ जलेर नष्ट भएका छन्। प्रहरीका अनुसार आगलागीबाट झन्डै एक करोड बराबरको आर्थिक क्षति भएको अनुमान गरिएको छ।





