Skip to main content

अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट, सेयर बजारमा उत्साह फैलियो

२३ चैत, काठमाडौं। अमेरिका र इरानबीच भएको युद्धविराम सहमतिपछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा गिरावट आएको छ र सेयर बजारमा उत्साह छाएको छ। युद्धविरामसँगै विश्वको करिब २० प्रतिशत तेल आपूर्ति हुने स्ट्रेट अफ होर्मुजमा रहेको अवरोध हट्ने अपेक्षाले अमेरिकी कच्चा तेलको भाउ १५ प्रतिशतभन्दा बढीले कमी आएर प्रति ब्यारेल ९५ डलरभन्दा तल झरेको छ, जसको जानकारी सीएनएनले दिएकाे छ। यद्यपि यो मूल्य फेब्रुअरी २७ मा युद्ध सुरु हुनुअघि रहेको ६७.०२ डलरभन्दा अझै उच्च रहेको छ।

वैश्विक मानक मानिने ब्रेन्ट क्रुडको मूल्य पनि १२.८८ प्रतिशतले घटेर ९५.१२ डलरमा आएको छ। तेलको मूल्यमा आएको यस गिरावटसँगै सेयर बजारमा उत्साह देखिएको छ। अमेरिकाका ३० ठूला कम्पनीहरूको प्रदर्शन मापन गर्ने डाउ फ्युचर्स ९०० अंकभन्दा बढीले उकालो लागेको छ। एस एण्ड पी ५०० र नास्ड्याक फ्युचर्स क्रमशः २.१ तथा २.५ प्रतिशतले वृद्धि भएका छन्। एस एण्ड पी ५००मा अमेरिकाका ५०० ठूला कम्पनीहरू समावेश हुन्छन् र यसको फ्युचर्सलाई धेरै लगानीकर्ताले सम्पूर्ण बजारको स्वास्थ्य मापन गर्न प्रयोग गर्छन्।

आर्थिक समाचार, युद्ध तथा ब्याजदरजस्ता विषयहरूले यसमा ठूलो प्रभाव पार्दछन्। नास्ड्याक फ्युचर्समा मुख्य रूपमा सूचना प्रविधि क्षेत्रका कम्पनीहरू पर्दछन्, जसले विशेष गरी सूचना प्रविधि क्षेत्रको अवस्था कसरी छ भन्ने संकेत दिन्छ। एशियाली सेयर बजारमा पनि सकारात्मक प्रभाव परेको छ। जापान, दक्षिण कोरिया र हङकङमा सेयर बजार उकालो लागेको भन्दै समाचार स्रोतले जनाएको छ।