Skip to main content

कोलेनिकाद्वारा अवैध अतिक्रमण हटाउन राजबिराज नगरपालिकालाई औपचारिक पत्र

२५ चैत्र, सप्तरी। कोष तथा लेखा नियन्त्रक कार्यालय (कोलेनिका) सप्तरीले आफ्नो स्थायी स्वामित्वमा रहेका जग्गाको रक्षा गर्न सक्रियता अपनाएको छ। राजबिराजको प्रमुख बजार क्षेत्रमा रहेको लगभग तीन कट्ठा सरकारी जग्गामा गरिएको अवैध अतिक्रमण हटाउन राजबिराज नगरपालिकालाई औपचारिक पत्राचार गरिएको छ। यस जग्गामा बनाइएको अवैध संरचना तुरुन्त हटाउन निर्देशन दिइएको छ। कोष तथा लेखा नियन्त्रक कार्यालय, सप्तरीका अनुसार राजविराज नगरपालिका वडा नं. ६ (पहिलेको वडा नं. ७) मा अवस्थित कित्ता नं. ९० को कुल ६ कट्ठा ६ धुर जग्गामध्ये २ कट्ठा १४ धुर भागमा अतिक्रमण भएको छ।

त्यसै जग्गामा नगरपालिकाले २०५४ सालमा जगदीश झा नामक व्यक्तिको नाममा घर नक्सा पास गरेको पाइएको छ। मालपोत र नापी कार्यालयका विवरणहरूले यो जग्गा पूर्ण रूपमा कोलेनिकाको स्वामित्वमा भएता पनि नगरपालिकाले २०५४/११/११ को निर्णय (च.नं. १४९३) अन्तर्गत प्लट नं. १५ उल्लेख गर्दै घर नक्सा पास गरेको देखाइएको छ। सरकारी जग्गामा निजी संरचना निर्माण भएपछि पूर्व ‘तत्कालीन भ्रष्टाचार नियन्त्रण शाही आयोग’ तथा हालको ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग’ले समेत टंगालबाट पत्राचार गरी अनुसन्धान सुरु गरेका थिए। यस मुद्दामा गत २२ मंसिर २०८२ मा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सरोकारवाला पक्षको बैठक बसेको थियो जसले अतिक्रमित संरचना हटाउने निर्णय गरेको थियो। उक्त निर्णयको कार्यान्वयनका लागि कोलेनिकाले राजबिराज नगरपालिकालाई पत्र लेखेर सरकारी सम्पत्तिको संरक्षण र अतिक्रमित संरचना हटाउन आवश्यक व्यवस्था मिलाउन अनुरोध गरेको छ, जानकारी दिँदै सप्तरीका प्रमुख कोष नियन्त्रक मनोज कुमार सुनुवारले बताएका छन्।