
२६ चैत, सुरुङ्गा (झापा) । फागुनको अन्तिम सातादेखि झापामा बारम्बार आएको हावाहुरी र असिनासहितको वर्षाले खेतबारीहरू उजाड बनाएका छन्। मुख्य खाद्यान्न तथा नगदबाली मकैदेखि तरकारी, फलफूल र माहुरीपालनसम्म यसको व्यापक असर परेको छ। जिल्ला कृषि ज्ञान केन्द्र झापाका प्रमुख सागर विष्टका अनुसार फागुन अन्तिम सातादेखि चैत दोस्रो सातासम्मको अवधिमा कृषिक्षेत्रमा मात्र तीन अर्ब १९ करोड २९ लाख ८२ हजार रुपैयाँ बराबरको क्षति भएको छ। त्यस बाहेक एक अर्ब ७२ करोड ७३ लाख ७४ हजार ६०० रुपैयाँ बराबरको बाली पूर्णरूपमा नष्ट भएको छ। झापाका १५ वटै पालिकामा क्षति देखिएको छ, तर सबैभन्दा बढी मकैबाली प्रभावित भएको छ। हावाहुरीसँगै परेको असिनाले बालीनाली थिचिएपछि उत्पादन नै नउठ्ने अवस्थामा किसानहरू पुगेका छन्। सबैभन्दा प्रभावित क्षेत्र बाह्रदशी गाउँपालिका रहेको छ जहाँ लगाइएको मकैबालीमध्ये लगभग ७५ प्रतिशत नष्ट भएको छ। सात वटा वडाबाट बनेको यस पालिकामा ८४० हेक्टर क्षेत्रफलमा मकैबालीमा क्षति पुगेको मुख्य विष्टले बताए। मकैमा मात्र २७ करोड २७ लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ भने आंशिक क्षति ७५ करोड ५७ लाख रुपैयाँ नाघेको छ। वडागत विवरणले क्षतिको गम्भीरता अझ स्पष्ट हुन्छ। बाह्रदशी–२ र ३ मा ठूलो क्षेत्रफलमा लगाइएको मकै पूर्णरूपमा नष्ट भएको छ भने अन्य वडामा आंशिक क्षति पुगेको छ। बाह्रदशी गाउँपालिका–१ मा ४३९ हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा २५ हेक्टरमा पूर्ण र ३३ हेक्टर क्षेत्रमा आंशिक क्षति भएको छ। बाह्रदशी–२ मा ७८० हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा ५९६ हेक्टरमा पूर्ण र ५७ हेक्टर क्षेत्रमा आंशिक क्षति पुगेको छ। बाह्रदशी–३ मा ६९३ हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा ५१९ हेक्टरमा पूर्ण र ५० हेक्टरमा आंशिक क्षति भएको छ। बाह्रदशी–४ मा ५४७ हेक्टर क्षेत्रमा मकैखेती लगाइएकोमा २६९ हेक्टरमा पूर्ण र १३३ हेक्टर क्षेत्रमा आंशिक क्षति पुगेको छ। बाह्रदशी–५ मा ९५७ हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा १६७ हेक्टरमा पूर्ण र ४०० हेक्टर क्षेत्रमा आंशिक क्षति भएको छ। बाह्रदशी–६ मा ६५३ हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा २० हेक्टरमा पूर्ण र ६७ हेक्टर क्षेत्रमा आंशिक क्षति पुगेको छ। बाह्रदशी–७ मा ५३० हेक्टर क्षेत्रमा मकैखेती गरिएकोमा ३३ हेक्टरमा पूर्ण र १०० हेक्टर क्षेत्रमा आंशिक क्षति भएको छ। मकैबालीको पछि तरकारी बालीमा समेत उल्लेखनीय प्रभाव परेको छ। विभिन्न वडामा साना क्षेत्रफल भए पनि तरकारी बाली नष्ट हुँदा दैनिक आम्दानीमा निर्भर रहेका किसानहरूले सिधा घाटा बेहोरेका छन्। प्रमुख विष्टका अनुसार असिनासहितको वर्षा र हावाहुरीले किसानहरूलाई दोहोरो चोट पुर्याएको छ। ‘फूल लागेको र गोडाइ अवस्थामा रहेका बालीमा असिनाले अत्यधिक क्षति गरेका छन्’, उनले बताए। स्थानीय तहहरूले प्रारम्भिक तथ्याङ्क सङ्कलन गरिरहेका छन् भने राहत तथा पुनःस्थापनाका उपायबारे छलफल थालेको कुरा पनि उनले बताए। –रासस





