Skip to main content

दुई दिनको सार्वजनिक बिदामा अदालतहरूमा वैकल्पिक व्यवस्थाको आदेश

२७ चैत, काठमाडौं । सर्वोच्च अदालतले दुई दिनको सार्वजनिक बिदामा समेत अत्यावश्यक सेवाका लागि मातहतका अदालतहरूमा वैकल्पिक व्यवस्था गर्न निर्देशन दिएको छ । सर्वोच्च अदालतको शुक्रबार बसेको पूर्ण बैठक (फूल कोर्ट) ले २४ घण्टा भन्दा लामो बिदा वा शनिबार र आइतबार सार्वजनिक बिदा भए पनि अत्यावश्यक सेवाको लागि वैकल्पिक व्यवस्था गर्न निर्देशन जारी गरेको हो । सर्वोच्च अदालतले पक्राउ पूर्जी अनुमति, जरुरी पक्राउ पूर्जी स्वीकृति तथा हिरासतमा राख्ने अनुमतिको लागिमाथि पेश हुनुपर्ने मुद्दाको निकासा लागि यस्तो व्यवस्था गर्न भनेको छ ।

नेपालको संविधान २०७२ को धारा २०(३) अनुसार पक्राउ गरिएका व्यक्तिलाई म्याद बेगर २४ घण्टाभित्र निकायमा उपस्थित गराउनुपर्ने बाध्यकारी व्यवस्था छ। तर शनिबार र आइतबार सार्वजनिक बिदाको कारणले यसको कार्यान्वयन गर्न असमर्थता देखिएपछि सर्वोच्च अदालतले वैकल्पिक व्यवस्था गर्ने परिपत्र जारी गरेको हो ।

सो परिपत्र देशभरिका उच्च अदालत, मातहतका इजलास, विशेष अदालत र सबै न्यायाधीकरणहरूले पालना गर्नुपर्नेछ । त्यस्तै प्रशासकीय अदालत, उपभोक्ता अदालत, बाल अदालत लगायत विशिष्टीकृत अदालतहरूले पनि यस परिपत्रको कडाइका साथ पालन गर्नुपर्नेछ ।

सरकारले गत आइतबारको निर्णय अनुसार सोमबारदेखि शुक्रबारसम्म विहान ९ बजेदेखि साँझ ५ बजेसम्म कार्यालय समय कायम गर्ने र शनिबार र आइतबार सार्वजनिक बिदा तोकिएको छ ।