स्वास्थ्य मन्त्रालयको निर्देशन: नयाँ कार्यविधि नआएसम्म आइतबार सेवा निरन्तरता दिने

सरकारले इन्धन खपत घटाउने उद्देश्यले शनिबार र आइतबार सार्वजनिक विदा लागू गरेको छ। स्वास्थ्य मन्त्रालयले आइतबार स्वास्थ्य सेवा सञ्चालन गर्ने र अर्को दिन विदा दिने स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ। केही अस्पतालहरूले जनशक्ति अभाव देखाउँदै आइतबार ओपीडी सेवा बन्द गरेपछि मन्त्रालयले नयाँ कार्यविधि तयार नभएसम्म यथासम्भव स्वास्थ्य सेवा उपलब्ध गराउन आग्रह गरेको छ। २९ चैत, काठमाडौं। सरकारले इन्धन बचतको लागि सार्वजनिक क्षेत्रमा शनिबार र आइतबार विदा गरेको छ। स्वास्थ्य क्षेत्र संवेदनशील भएकाले मन्त्रालयले आइतबार सेवा सञ्चालन गर्ने र प्रतिस्थापन स्वरूप अर्को दिन कर्मचारीलाई विदा दिने निर्देशन जारी गरेको छ।
तर केही स्वास्थ्य संस्थाहरूले यो निर्देशन पालना गर्न सकेका छैनन्। कतिपय अस्पतालहरूले आइतबार ओपीडी सेवा बन्द गर्दा सयौँ बिरामी लाइनमा बसे पनि सेवा नपाएर फर्कनुपरेको थियो। नेपाल चिकित्सक संघ (एनएमए) ले चिकित्सकलाई द्वितीय दर्जाको नागरिक झै व्यवहार गरिएर जनशक्ति अभाव र सेवा–सुविधाको अवस्था उल्लेख गर्दै आइतबार सेवा दिन नहुने निर्देशन जारी गरेको थियो। त्यसपछि मन्त्रालयले आइतबार दिउँसो थप प्रेस विज्ञप्ति जारी गर्यो। नयाँ कार्यविधि नभएसम्म उपलब्ध जनशक्ति र कार्यभारको आधारमा स्वास्थ्य सेवा प्रवाह मिलाउन सबै अस्पतालहरुलाई निर्देशन दिइएको छ। विज्ञप्तिमा भनिएको छ, ‘कार्यविधि तयार नभएसम्म बिरामीको हित सर्वोच्च राख्दै आफैंको अस्पतालमा उपलब्ध जनशक्ति र कार्यभारका आधारमा यथासम्भव स्वास्थ्य सेवा कायम राख्न सबैमा अनुरोध छ।’
कतिपय अस्पताल र स्वास्थ्य संस्थाले जनशक्ति अभावका कारण आइतबार ओपीडी सञ्चालन गर्न नसक्ने जनाएपछि यस्तो निर्देशन दिइएको हो। मन्त्रालयले सरकार स्वास्थ्यकर्मीको विश्राम अधिकारप्रति सचेत रहेको र नयाँ कार्यविधिमार्फत स्वास्थ्यकर्मीको अधिकार र नागरिकको उपचार अधिकारबीच सन्तुलन मिलाउने व्यवस्था बनाउन लागेको जनायो। मन्त्रालयले आइतबार ओपीडी सेवा सञ्चालन गर्ने अस्पतालहरुलाई धन्यवाद पनि व्यक्त गरेको छ। मन्त्रिपरिषद्को निर्णय बमोजिम दुई दिन सार्वजनिक विदा भए पनि बिरामीको हितमा सेवा दिन सक्ने अस्पताललाई मन्त्रालयले कदर गरेको छ। स्वास्थ्य सेवा जस्तो अत्यावश्यक सेवा निरन्तरता दिनु सबैको मुख्य दायित्व भएको मन्त्रालयले उल्लेख गरेको छ।





