Skip to main content

राष्ट्रिय प्रतिवद्धता पत्रमा पर्यटनसम्बन्धी के घोषणा गरियो?

समाचारको संक्षिप्त समीक्षा गर्दै सरकारले पाँच वर्षभित्र नेपाल आएका पर्यटकहरूको प्रतिव्यक्ति खर्च दोब्बर गर्ने घोषणा गरेको छ। पर्यटन विविधीकरणका लागि प्रकृति, संस्कृति र समुदायलाई जोड्दै नयाँ ‘इकोसिस्टम’ तयार गर्ने प्रतिबद्धता सार्वजनिक गरिएको छ। पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरबाट सिधा उडान सञ्चालन गरिने बताइएको छ। १ वैशाख, काठमाडौं। सरकारले नेपाल आउने पर्यटक सङ्ख्या र औसत बसाइ अवधिलाई बढाएर गुणस्तरीय पर्यटनको आधार तयार गर्न पाँच वर्षभित्र प्रतिव्यक्ति खर्च दोब्बर पार्ने घोषणा गरेको छ। प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलका चुनावी घोषणा पत्रबाट साझा प्रतिवद्धता पत्रको मस्यौदा सार्वजनिक गर्दै सरकारले पर्यटन विविधीकरण गर्ने उद्देश्यले प्रकृति, संस्कृति, र समुदायलाई जोडेर नयाँ ‘इकोसिस्टम’ तयार गर्ने उल्लेख गरेको छ।

पशुपतिनाथ, लुम्बिनी र काठमाडौं उपत्यकाको संस्कृति तथा वास्तुकला, देवघाटदेखि मुक्तिनाथसम्मका हिन्दू–बौद्ध महिमा र जनकपुरलाई धार्मिक–सांस्कृतिक पर्यटन केन्द्रका रूपमा प्रवर्द्धन गर्न विशेष पूर्वाधार निर्माण गरिने उल्लेख छ। प्रदेश सरकार, स्थानीय तह, निजी क्षेत्र र समुदायको सहकार्यमा विविध कार्यक्रम सहित सन् २०२७ लाई ‘राष्ट्रिय आरोग्य वर्ष’को रूपमा मनाई आरोग्य पर्यटन विकास गरिने घोषणा गरिएको छ। नेपाली सभ्यता, जीवनशैली, स्थानीय भेषभूषा, रैथाने खानपान र शिल्पकला समावेश गरी पर्यटन प्याकेज तथा होमस्टे सञ्चालन गरिने भएको छ।

साहसिक र मनोरञ्जनात्मक पर्यटनका लागि तीन तहका सरकारसँग समन्वय गरी ‘सफा हिमालः सुरक्षित आरोहण’ अभियानका साथै थप पर्यटक गन्तव्यहरूको विकास गरिनेछ। साल्पा सिलचुङ, बौद्ध स्वयम्भु, नमोबुद्ध, लुम्बिनी, मुक्तिनाथ, हलेसी महादेव, पिण्डेश्वर, दन्तकाली, गोसाइकुण्ड, पशुपतिनाथ, पाथिभरा, मुक्मलुङ, सन्म्नापारु हाङलगायत स्थलहरूलाई धार्मिक स्थल घोषणा गरी पर्यटन केन्द्रको रूपमा विकास गरिने भनिएको छ। पर्यटन तथा आतिथ्यता सम्बन्धी तालिम कार्यक्रम प्रदेश र स्थानीय तहमा सञ्चालन गरिने जानकारीपत्रमा उल्लेख छ।

मौसमी पर्यटन बढाउन अफ सिजन प्याकेज तथा विशेष कार्यक्रमहरू सञ्चालन गरिने उल्लेख छ। पर्वतारोहणका लागि नयाँ हिमालहरू खुला गरेर आरोहण प्रवर्द्धन गर्ने प्रतिबद्धता पनि छ। सार्वजनिक निजी साझेदारीमा होटल, रिसोर्ट, साहसिक सेवा र इको टूरिज्म सञ्चालन गरिने योजना छ। नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामकको दुवै रूपमा दुई स्वायत्त निकायको रूपमा विकास गरी हवाई सुरक्षा सुदृढ गरिने बताइएको छ। पोखरा र भैरहवा विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गरी विश्वका प्रमुख सहरहरूबाट सिधा उडान सञ्चालन गरिने उल्लेख छ। पर्यटन पूर्वाधार विकास, बजार प्रवर्द्धन, हवाई सेवा विस्तार, आन्तरिक सुरक्षा र नयाँ गन्तव्य विकास गरी नेपालको विशिष्ट विशेषताको ब्रान्डिङ विश्व बजारमा हुने सरकारको प्रतिवद्धता छ।