प्रियंकाले निर्माण गरेको चलचित्र ‘मास्टर्नी’ १२ भदौदेखि प्रदर्शनमा, पहिलो झलक सार्वजनिक

प्रियंका कार्कीको होम प्रोडक्सन आयंका फिल्म्सले निर्माण गरेको कथानकमूलक चलचित्र ‘मास्टर्नी’ को पहिलो झलक सार्वजनिक गरिएको छ। भारतीय निर्देशक सुभेन्दु घोषको निर्देशनमा तयार भएको ‘मास्टर्नी’ को छायांकन १७ दिनमा काठमाडौं र पोखरामा सम्पन्न भएको छ। यो चलचित्र क्राइम थ्रिलर मर्डर मिस्ट्री विधामा निर्माण गरिएको छ र १२ भदौदेखि प्रदर्शनमा आउनेछ।
आयंका फिल्म्सले यसअघि वेब सिरिज बनाउँदै आएको थियो, तर यो पहिलो पटक कथानक चलचित्र निर्माण गरिएको हो। प्रियंकाले गोप्य रूपमा यो चलचित्रको छायांकन पूरा गरेकी छिन्। चलचित्रमा प्रियंका कार्की, आयुष्मान जोशी, क्याबिनेट श्रेष्ठ र प्रनित कार्कीको अभिनय छ। क्याबिनेट श्रेष्ठ शार्क ट्यांक नेपालका शार्क एवं अग्नि समूहका प्रमुख हुन्।
‘मास्टर्नी’ का कार्यकारी निर्माता सुरक्षा सिंह मलहोत्रा हुन्। यस चलचित्रमा प्रियंकासँगै सरोज खनाल, प्रमोद अग्रहरी, आर्यन सिग्देल, अनुपविक्रम शाही, गौरी मल्ल, सिम्रन खड्का, रक्षा थापा, विशाल पहारी र दिनेश काफ्लेले पनि अभिनय गरेका छन्। प्रियंकाको आफ्नै कथामा आधारित यस चलचित्रको पटकथा सान बस्न्यातले लेखेका हुन्।





