Skip to main content

स्थानीय तहहरूले केन्द्र सरकारको निर्देशनलाई बेवास्ता गर्दै विद्यार्थी भर्ना प्रक्रिया अघि बढाए

समाचार सारांश समीक्षित सामग्री। केन्द्र सरकारले वैशाख १५ गतेदेखि विद्यार्थी भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। तर, तनहुँ, रुपन्देही र प्युठानका स्थानीय तहहरूले केन्द्रको निर्णय विपरीत वैशाख २ गतेदेखि भर्ना र पठनपाठन सुरु गरेका छन्। प्याब्सनले शिक्षा मन्त्रीलाई भेटेर १५ गतेदेखि पठनपाठन सुरु गर्ने निर्णयमा ध्यानाकर्षण गराएको छ। २ वैशाख, काठमाडौं। संघीय सरकारको निर्णय विपरीत केही स्थानीय तहहरूले विद्यार्थी भर्ना र पठनपाठन सुरु गरेका छन्। केन्द्र सरकारले वैशाख १५ गतेदेखि भर्ना र २१ गतेदेखि पठनपाठन सञ्चालन गर्ने निर्णय गरेको छ। तर स्थानीय तहहरूले उक्त निर्णयलाई बेवास्ता गर्दै भर्ना र पठनपाठन सुरु गर्ने सूचना जारी गरेका छन्।

तनहुँको आँबुखैरेनी गाउँपालिकाले वैशाख २ गते (आज) देखि भर्ना र पठनपाठन सञ्चालन सुरु गर्ने सूचना जारी गरेको छ। संविधानले आधारभूत र माध्यमिक तहको शिक्षा व्यवस्थापन स्थानीय तहलाई जिम्मा दिएकोले उक्त शैक्षिक सत्र सुरु गरेको सूचना प्रकाशित गरिएको छ। ‘यस गाउँपालिकाभित्रका सम्पूर्ण सामुदायिक र संस्थागत विद्यालयहरूले वैशाख २ गतेदेखि भर्ना अभियान र नियमित पठनपाठन सञ्चालन गर्न/गराउन सबैमा यो सूचना जारी गरिएको छ,’ गाउँपालिका अध्यक्ष शुक्र चुमानको जारी सूचनामा भनिएको छ।

त्यस्तै, तनहुँको बन्दीपुर गाउँपालिकाले २ वैशाखदेखि ८ गतेसम्म भर्ना र ९ गतेबाट पठनपाठन सुरु गर्ने निर्णय गरेको छ। ‘सिकाइ उपलब्धिको तयारी र वार्षिक कार्ययोजना लगायत सबै तयारी ८ गतेसम्म पूरा हुन्छ। आजदेखि नै भर्ना अभियान सुरु गरेका छौँ,’ गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर थापाले भने, ‘९ गतेबाट पठनपाठन सुरु हुन्छ।’ शैक्षिक क्यालेन्डर तयार भएकाले सोही अनुसार सत्र सुरु गरिएको उनले बताए। ‘क्यालेन्डरअनुसार पठनपाठन नहुँदा कोर्स पूरा गर्न सकिँदैन। नजिकैका अन्य विद्यालयले पनि पठनपाठन सुरु गरिसकेका छन्,’ उनले थपे।

रुपन्देहीको तिलोत्तमा नगरपालिकाले ७ वैशाखदेखि विद्यार्थी भर्ना सुरु गर्ने र १० गतेदेखि नियमित पठनपाठन गराउने निर्णय गरेको छ। नगर प्रमुख रामकृष्ण खाणले जारी गरेको विज्ञप्तिमा २ वैशाखदेखि शैक्षिक तथा विभिन्न प्रवर्द्धनात्मक र रचनात्मक शैक्षिक कार्यक्रमहरू सञ्चालन गर्ने उल्लेख छ। प्युठानको झिमरुक गाउँपालिकाले पनि विद्यार्थी भर्ना छिटो सुरु गरेको छ। ‘आजदेखि भर्ना सुरु गरेका छौँ। १० गतेबाट पठनपाठन सुरु हुनेछ,’ गाउँपालिका अध्यक्ष पितबहादुर महताराले भने।

गत चैत १० गते विद्यार्थीहरूको परीक्षा सकिएपछि लामो समयसम्म बिदा हुने भएकोले विद्यार्थीहरू अन्यत्र जाने भएपछि भर्ना शुरु गरिएको उनले बताए। ‘संविधान र स्थानीय सरकार सञ्चालन ऐनले माविसम्मको अधिकार स्थानीय तहलाई दिएको छ। त्यसैअनुसार क्यालेन्डर बनाएर कार्यान्वयन गरिरहेका छौँ,’ उनले थपे। तर संघीय सरकारले भने १५ वैशाखदेखि विद्यार्थी भर्ना मात्र सञ्चालन गर्न निर्देशन दिएको छ। ‘१५ गतेदेखि भर्ना गर्ने निर्देशन र परिपत्र जारी गरिसकेको छौं,’ शिक्षा तथा मानव स्रोत विकास केन्द्रका महानिर्देशक अणप्रसाद न्यौपानेले बताए।

प्याब्सन काठमाडौंले वैशाख २ गतेदेखि भर्ना सुरु गर्ने, ७ गतेदेखि पूर्वतयारी कक्षा सञ्चालन गर्ने, र १५ गतेदेखि नियमित कक्षा सञ्चालन गर्ने सूचना जारी गरेको छ। यसैबीच बुधबार प्याब्सन टोलीले शिक्षा मन्त्री सस्मित पोखरेललाई भेटेर यस विषयमा ध्यानाकर्षण गराएको छ। ‘मन्त्रीज्यूलाई यस विषयमा अवगत गराएका छौँ। उहाँले १५ गतेबाट मात्रै पठनपाठन सुरु गर्न निर्देशन दिनुभएको छ,’ प्याब्सन अध्यक्ष कृष्ण अधिकारीले भने।