सञ्चार मन्त्रालयको आग्रह: अफवाहमा भरोसा गरेर समाचार प्रकाशन/प्रसारण नगर्नुहोस्

समाचार सारांश स्रोत: OK AI द्वारा तयारी, सम्पादकीय समीक्षा। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले आधारहीन, मिथ्या र भ्रामक सूचना प्रकाशन नगर्न अनुरोध गरेको छ। त्यस्ता सूचना सामग्रीहरूले आम नागरिकमा भ्रम र गलत मानसिकता फैलाउने उल्लेख मन्त्रालयले गरेको छ। भ्रामक सूचना प्रकाशन गर्ने व्यक्ति वा संस्थालाई कानुन अनुसार कडा कारबाही गरिने जानकारी मन्त्रालयले दिएको छ। ९ वैशाख, काठमाडौं।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले हचुवामा भर गरेर समाचार प्रकाशन/प्रसारण नगर्न आग्रह गरेको छ। बुधबार जारी विज्ञप्तिमा मन्त्रालयले केही समयदेखि विभिन्न अनलाइन मिडिया र सामाजिक सञ्जालमा आधारहीन, मिथ्या र भ्रामक समाचार तथा सूचना प्रसारित भइरहेका विषयमा ध्यानाकर्षण भएको उल्लेख गरेको छ।
‘यस्ता कपोकल्पित सूचना सामग्रीहरूले आम नागरिकहरूमा भ्रम सिर्जना गर्छन् र समाजमा गलत मानसिकता फैलाउँछन्। सरकारले यस प्रकारका भ्रामक सूचना सम्प्रेषणलाई अत्यन्त गम्भीरतापूर्वक लिएको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘यदि कुनै आधारहीन, मिथ्या वा भ्रामक सूचना प्रकाशन वा प्रसारण गरिएको पाइयो भने, त्यसमा संलग्न व्यक्ति वा संस्थालाई कानुनी रूपमा कडाभन्दा कडा कारबाही गरिने जानकारी गराउँछौं।’





