Skip to main content

गोरखामा सिंगुसको आक्रमण, १० जना घाइते

१२ वैशाख, गोरखा। गोरखा नगरपालिका–११ रानादी टोलमा सिंगुसको आक्रमणबाट १० जना भन्दा बढी घाइते भएका छन्। दुई दिनको अन्तरालमा सिंगुसले १० जनाभन्दा बढीलाई टोकेको स्थानीयहरुले जानकारी दिएका छन्। घाइतेमध्ये केही व्यक्ति प्रदेश अस्पताल गोरखामा उपचाररत छन् भने केहीले उपचारपछि घर फर्केका छन्। उपचारपछि घर फर्केका स्थानीय कुमार अम्गाईका अनुसार सो टोलमा अहिले सिंगुस आतंक फैलिएको छ। तेह्रकिलोबाट छेवेटार जाने सडकमा आवतजावत गर्ने व्यक्तिहरूलाई सिंगुस समूह बनाएर आक्रमण गर्ने गरेको उनी बताए।

‘मेरो घरमा नै तीन जनालाई सिंगुसले टोक्यो,’ उनले भने, ‘छिमेकीहरू र उक्त बाटोमा हिँड्नेहरूलाई पनि टोकेको छ।’ विशेष गरी मोटरसाइकल चालकहरूलाई सिंगुसले आक्रमण गर्ने गरेको उनले बताए। ‘हिजो यहाँ एक जना स्कुटर चढेर आइरहेका बेला सिंगुसले टोकेर स्कुटर लडाउनुभयो, के भयो भनेर हेर्न गएपछी हामीलाई पनि टोक्यो,’ अम्गाईले भने। उक्त बाटो हुँदै आवतजावत गर्ने सबैलाई सिंगुस समूह बनाएर आक्रमण गर्ने गरेको उनले थपे।

सिंगुस आतंकका कारण सो क्षेत्रका स्थानीय त्रसित छन्। घरभित्र बस्नसमेत डर लाग्ने अवस्था सिर्जना भएको भन्दै उनीहरू चिन्तित छन्। ‘कहाँबाट आयो थाहा छैन, गोलो कहाँ छ त्यो पनि फेला परेको छैन,’ अम्गाईले बताए। प्रहरीलाई जानकारी गराए पनि उनीहरूले ध्यान नदिएको गुनासो उनीहरूले गरेका छन्। समस्या समाधानका लागि उनीहरूले वन कार्यालय र प्रशासनसँग अनुरोध गरेका छन्।