घरकै ढोकामा सामाजिक सुरक्षा भत्ता वितरण शुरु: बैंक जानुपर्ने बाध्यता हटाइयो

१२ वैशाख, ललितपुर । दक्षिण ललितपुरको महाङ्काल गाउँपालिकाले सामाजिक सुरक्षा भत्ता वितरणलाई अझ सहज, सरल र नागरिकमैत्री बनाउने उद्धेश्यले लाभग्राहीहरूको घरदैलोमा नै पुगेर भत्ता वितरण सुरु गरेको छ। गाउँपालिकाकी उपाध्यक्ष डोल्मा माया गोलेका अनुसार ज्येष्ठ नागरिक, एकल महिला र शारीरिक रुपमा अशक्त व्यक्तिहरूको सहजताको लागि घरमै भत्ता वितरण गर्ने व्यवस्था लागू गरिएको छ।
‘हाम्रो पालिकाका धेरै वडाहरू टाढा र दुर्गम क्षेत्रमा छन्। ज्येष्ठ नागरिक, एकल महिला र अशक्तता भएका व्यक्तिहरूले पालिका केन्द्र गोटीखेलस्थित बैंकसम्म जानुपर्ने बाध्यता अब छैन। त्यसैले हामीले घरमै पुगेर सामाजिक सुरक्षा भत्ता वितरण गर्ने काम अघि बढाएका छौँ,’ उपाध्यक्ष गोलेले बताइन्। महाङ्काल गाउँपालिका–६ ठूलादुर्लाङबाट औपचारिक रूपमा यो सेवा सुरु गरिएको उनले जानकारी दिइन्।
घरमै भत्ता प्राप्त भएपछि ज्येष्ठ नागरिक, अशक्तता भएका व्यक्तिहरू र एकल महिलाहरूले खुशी व्यक्त गरेका छन्। पालिकाले आगामी दिनहरूमा यो सेवा सबै वडामा विस्तार गर्ने तयारी गर्दैछ। साथै, उपाध्यक्ष गोलेले घुम्ती शिविरमार्फत नागरिकता सिफारिस, सामाजिक सुरक्षा सेवा तथा व्यक्तिगत घटना दर्ता लगायतका सेवा वडास्तरमै उपलब्ध गराउने जानकारी समेत दिइन्। ‘अब पालिकामा होइन, सेवा तपाईंको घरमै’ भन्ने नारासहित सेवा प्रवाहलाई अधिक प्रभावकारी र नागरिक केन्द्रित बनाउन यो अभियान निरन्तरता दिने गाउँपालिकाले जनाएको छ।





