Skip to main content

दो क्लिनिक बंद, डॉ. रूपाखेती निलंबित

१२ वैशाख, बुटवल। गर्भवती महिला गीता पाण्डेको मृत्यु प्रकरणको छानबिन गर्न गठित समितिले नेपाल मेडिकल काउन्सिललाई प्रारम्भिक प्रतिवेदन बुझाएको छ। डा. सम्राट पराजुली नेतृत्वको समितिले घटनाको प्रारम्भिक प्रतिवेदन बुझाएको हो। समितिले अन्तिम प्रतिवेदन नआएसम्म गीता पाण्डेको गर्भपतन प्रकरणमा संलग्न बुटवलका जोनल फार्मेसी र इन्दुलेखा स्वास्थ्य क्लिनिक सिल गर्न सिफारिस गरेको छ। यस्तै, डा. सतिश रूपाखेतीलाई बिरामी जाँच्न प्रतिबन्ध लगाउन भनेको छ। सोहीअनुसार काउन्सिलले निर्णय गरिसकेको छ। नेपाल मेडिकल काउन्सिलका रजिस्टार डा. सतिशकुमार देवले तीन दिन लगाएर प्रारम्भिक प्रतिवेदन तयार गरिएको र अन्तिम प्रतिवेदन तयार भएपछि घटनाबारे विस्तृत विवरण आउने बताएका छन्।

मेडिकल काउन्सिलले कारबाही सिफारिस गरेपनि खत्री नर्सिङ होमका सञ्चालक डा. डीबी खत्रीबारे प्रारम्भिक प्रतिवेदनमा कुनै उल्लेख छैन। मृतक गीता पाण्डेको पति प्रकाश पाण्डेले खत्री विरुद्ध प्रहरीले किटानी जाहेरी दिएका छन्। गर्भपतनका लागि नर्सिङ होम र क्लिनिक गरी तीनवटा स्वास्थ्य संस्था धाइरहँदा वैशाख ६ गते गीता पाण्डेको ज्यान गएको थियो। १३ हप्ता बढीको गर्भ अस्वस्थ रहेको भन्दै गीता पति प्रकाशसहित वैशाख ५ गते खत्री नर्सिङ होम पुगेकी थिइन्। उनी चैत २७ मा सोही ठाउँमा जाँच गर्न पुगेकी थिइन्। जाँचका बेला डा. खत्रीले गर्भ असामान्य रहेको भन्दै वैशाख ४ गते बोलाएका थिए। गीता वैशाख ५ गते त्यहाँ गएकी थिइन्। तर, गर्भपतनमा ख्यातिप्राप्त खत्री नर्सिङ होमले गीतालाई आफ्नोमा उपचार नगरी लोकेसन म्यापसहित बुटवल अस्पताल लाइनको जोनल फार्मेसी क्लिनिकमा पठाएको थियो।

जोनल फार्मेसीले गर्भपतनका लागि १६ हजार शुल्क लाग्ने भन्दै दुई हजार अग्रिम भुक्तानी लिएर दुई प्रकारका औषधि दिएर पठाएको थियो। जोनलबाट फेरि इन्दुलेखा क्लिनिकमा पुर्‍याएर गर्भपतन गराउने क्रममा गीताको ज्यान गएको थियो। इन्दुलेखा क्लिनिकमा डा. सतिश रूपाखेतीले उनको जाँच गरेका थिए। पत्नीको मृत्युलाई पति प्रकाशले ती स्वास्थ्य संस्थाहरुले नाफाको व्यापार गर्ने क्रममा हत्या गरेको आरोप लगाएका छन्। उनले मृत्युमा डा. डीबी खत्री र डा. सतिश रूपाखेती मुख्य दोषी रहेको आरोप लगाउँदै पक्राउ गरी कानुनी कारबाहीको माग गरेका छन्। दुई डाक्टरबाहेक सन्ध्या बस्नेत (जोनल फार्मेसी/क्लिनिक सञ्चालक), निलम घर्तीमगर (जोनल फार्मेसी), खगेन्द्रप्रसाद पाण्डे (इन्दुलेखा स्वास्थ्य क्लिनिक सञ्चालक)लाई पनि कारबाहीको माग गर्दै गीताका पति प्रकाशले इलाका प्रहरी कार्यालय बुटवलमा जाहेरी दिएका छन्। जाहेरीपछि प्रहरीले पाँचै जनालाई पक्राउ गरेर आवश्यक अनुसन्धान गरेको थियो। पक्राउ परेकामध्ये डा. खत्री र रूपाखेती थुनामुक्त भइसकेका छन्। यसअघि मृतकका आफन्तले खत्री नर्सिङ होम, जोनल फार्मेसी र इन्दुलेखा क्लिनिकमा तालाबन्दी पनि गरेका थिए। मृतक गीता रक्त सञ्चार सेवा केन्द्र भैरहवाकी कर्मचारी हुन्। पति प्रकाश पनि अधिकृत स्तरको सरकारी कर्मचारी हुन्।