
फाइल तस्वीर समाचार सारांश
वीरगञ्जको त्रिभुवन राजपथको सडक मध्यरेखा निर्धारणको काम मंगलबारदेखि सुरु हुँदैछ। सडक डिभिजन कार्यालय हेटौँडाले प्राविधिक सामग्री उपलब्ध गराउने छ भने नापी कार्यालयले नक्सा र मापनको जिम्मेवारी सम्हाल्नेछ, संयुक्त कार्यदलले नापजाँचदेखि कार्यान्वयनसम्म सहकार्य गर्नेछ। १४ वैशाख, वीरगञ्ज।
वीरगञ्जको मुख्य सडक त्रिभुवन राजपथमा सडकको दाहिने र बायाँ तर्फ पर्ने मध्यरेखा निर्धारणको काम मंगलबारदेखि शुरू हुन लागेको छ। सोमबार वीरगञ्ज महानगरपालिकामा सरोकारवालाहरूको संयुक्त बैठकले सडक विस्तारलाई अघि बढाउन सडकको मध्यरेखा निर्धारण गरी स्टिलका किल्ला गाड्ने निर्णय गरेको हो। बैठकको अध्यक्षता महानगर प्रमुख राजेशमान सिंहले गरेका थिए र यसमा जिल्ला प्रशासन कार्यालय, सडक डिभिजन कार्यालय हेटौँडा र नापी कार्यालय पर्साका प्रतिनिधिहरू उपस्थित थिए।
सडक विस्तार गर्दा केही संरचना हटाइए पनि सडकको वास्तविक मध्यरेखा अस्पष्ट भएपछि स्थानीय बासिन्दाहरूमा अन्योलता देखिने गरेको थियो। विशेष गरी “कहाँसम्म संरचना हटाउनुपर्ने हो” भन्ने विषयमा निरन्तर स्पष्ट जानकारीको माग हुन्थ्यो। अब उक्त समस्या समाधान गर्न त्रिभुवन राजपथको आधिकारिक नक्सा अनुसार सडकको मध्यरेखा निश्चित गरिनेछ। मध्यरेखा निर्धारणपछि दायाँ-बायाँ समान दूरी कायम गरी सडकको चौडाइ सुनिश्चित गर्न सजिलो हुनेछ। यसले सडक विस्तार प्रक्रिया थप पारदर्शी र विवादरहित बनाउने अपेक्षा गरिएको छ।
नापजाँचका लागि आवश्यक प्राविधिक र भौतिक सामग्री सडक डिभिजन कार्यालय हेटौँडाद्वारा उपलब्ध गराइने छ भने नक्सा र मापनको काम नापी कार्यालय पर्साले गर्नेछ। सडक डिभिजन कार्यालय हेटौँडाका इञ्जिनियर भोला प्रसाद साहका अनुसार मंगलबार बिहानदेखि नापजाँचको काम औपचारिक रूपमा सुरु हुने भएको छ। साथै, नापजाँचका लागि सडक डिभिजन कार्यालय, नापी कार्यालय, जिल्ला प्रशासन कार्यालय र वीरगञ्ज महानगरपालिकाको संयुक्त कार्यदल गठन गरिएको छ। उक्त कार्यदल नापजाँचदेखि कार्यान्वयनसम्मका सबै चरणहरूमा सहकार्य गर्नेछ। यसअघि सडक विस्तार गर्ने क्रममा गत आइतबार सडक डिभिजन कार्यालयले गण्डकदेखि भन्सारसम्म पर्ने घर–टहरामा डोजर प्रयोग गरेको थियो।





