Skip to main content

कुष्ठरोगी व्यक्तिबाट विवाह बदर गर्ने कानूनी प्रावधान खारेज

१४ वैशाख, काठमाडौं । सर्वोच्च अदालतले कुष्ठरोग लागेका व्यक्तिसँग झुक्याएर गराइएको विवाह बदर गर्ने कानूनी व्यवस्था हटाएको छ। सर्वोच्च अदालतको संवैधानिक इजलासले मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा ७१(२)(ग) अन्तर्गत रहेको कुष्ठरोग सम्बन्धी प्रावधान खारेज गरेको छ, सर्वोच्च अदालतका प्रवक्ता अर्जुन कोइरालाले जानकारी दिए। उक्त ऐनको दफा ७१ मा विवाह गर्न नपाइने अवस्थामा रहेका पुरुष र महिलाबीच विवाह गराउनु नहुने प्रावधान रहेको थियो। त्यही दफाको उपदफा २(ग) मा कुष्ठरोग भएका पुरुष वा महिलासँग झुक्याएर विवाह गराउन नदिने व्यवस्था समावेश थियो।

‘पहिले कुष्ठरोग निको नहुने र घातक रोगको रूपमा रहेको माना गरिन्थ्यो। अहिले उपचारपछि रोग निको हुने र व्यक्तिहरू सामान्य जीवनमा फर्कन सक्ने भएकाले उक्त कानूनी व्यवस्था खारेज गर्नुपर्ने मागसमेत प्रस्तुत गरिएको थियो,’ सर्वोच्च अदालतका प्रवक्ता कोइरालाले भने, ‘त्यही मागको आधारमा कुष्ठरोगसम्बन्धी उक्त कानूनी प्रावधान खारेज गर्ने निर्णय लिइएको हो।’ अधिवक्ता प्रल्हाद महत लगायतले दायर गरेको रिट निवेदनमा कामू प्रधानन्यायाधीश सपना प्रधान मल्लको एकल इजलास तथा न्यायाधीश कुमार रेग्मी, डा. मनोज कुमार शर्मा, शारंगा सुवेदी र अब्दुल अजीज मुसलमानको संयुक्त इजलासले उक्त कानूनी व्यवस्था खारेज गर्ने आदेश दिएको छ।