न्यु डायमन्ड लगातार चार खेल जित्दै पीएम कप एनभीए भलिबल लिगको फाइनलमा प्रवेश

१५ वैशाख, काठमाडौं । न्यु डायमन्ड युथ स्पोर्ट्स क्लबले रेडबुल दशैँ पीएम कप एनभीए महिला तथा पुरुष भलिबल लिग २०८३ अन्तर्गत महिलातर्फको फाइनलमा स्थान बनाउन सफल भएको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको कभर्डहलमा मंगलबार सम्पन्न खेलमा न्यु डायमन्डले एपीएफलाई २५-२१, २०-२५, २५-१८, २५-२१ को स्कोरमा हराउँदै विजय हासिल गरेको हो। न्यु डायमन्डले अब लिग चरणको अन्तिम खेलमा नेपाल प्रहरीसँग प्रतिस्पर्धा गर्नेछ। उक्त खेलको नतिजा जे भए पनि न्यु डायमन्ड शीर्ष दुई स्थानमा रहन पक्का भइसकेको छ। चार खेलबाट १२ अंक जोड्दै न्यु डायमन्ड शीर्ष स्थानमा उक्लिएको छ भने दोस्रो स्थानमा रहेको एपीएफसँग ६ अंक रहेका छन्।
त्यसैगरी, मंगलबार सम्पन्न अर्को महिलातर्फको खेलमा त्रिभुवन आर्मी क्लबले सुदूरपश्चिमलाई २५-१५, २५-१०, २५-५ को फराकिलो अन्तरले पराजित गरेको छ। यो उनीहरुको चार खेलमा पहिलो जित हो र यससगैँ आर्मीको ३ अंक भएको छ। हाल एपीएफलाई मात्र नेपाल प्रहरी क्लबसँग खेल्न बाँकी छ भने प्रहरी क्लबले एपीएफ र न्यु डायमन्ड दुबैसँग खेल्ने तालिका रहेको छ।





