
विश्व निकेतन, तरुण, ज्ञानोदय, त्रिपद्म विद्याश्रम लगायत आठ सामुदायिक विद्यालयहरूले उत्कृष्ट परिणाम र गुणवत्तायुक्त शिक्षा प्रदान गरिरहेका छन्। यी विद्यालयहरूले प्रविधि आधारित शिक्षण, अनुशासित वातावरण र नवीन कार्यक्रममार्फत गुणस्तरीय शिक्षा सम्भव भएको प्रमाणित गरेका छन्। काठमाडौँ उपत्यकाभित्र धेरै सामुदायिक विद्यालयहरूमा विद्यार्थीहरूको चाप बिस्तारै बढ्दो छ। सरकारी विद्यालय भन्ने बित्तिकै नाक सिकोर्ने प्रवृत्ति छ। महँगो निजी स्कूलमा बच्चा पढाउनु प्रतिष्ठाको संकेत ठानिने र सामुदायिक स्कूलमा सिकाउनेक्रमलाई कमजोर दृष्टिले हेर्ने प्रचलन हाम्रो समाजमा छ। तर अहिले धेरै अभिभावकहरूले आफ्ना छोराछोरीलाई निजी स्कूलबाट निकालेर सामुदायिक विद्यालयमा भर्ना गराइरहेका छन्। यसका लागि सरकारी विद्यालयहरूले नतिजामा मात्र नभएर विद्यार्थीहरूको बहुआयामिक विकासमा विशेष ध्यान दिनुपर्छ। उत्कृष्ट नतिजा, प्रविधिमैत्री शिक्षण, अनुशासित वातावरण र नवीन कार्यक्रममार्फत केही सरकारी विद्यालयहरूले उत्कृष्ट शिक्षा प्रदान गरिरहेका छन्।
काठमाडौँ, ललितपुर र भक्तपुरमा धेरै उत्कृष्ट सामुदायिक विद्यालयहरू छन्। गुणस्तरीय शिक्षा सरकारी विद्यालयमै संभव छ भन्ने उदाहरण प्रस्तुत गरेका यी ८ विद्यालयहरूको विवरण हामीले प्रस्तुत गरेका छौँ।
१. विश्व निकेतन माध्यमिक विद्यालय, त्रिपुरेश्वर: विश्व निकेतन माध्यमिक विद्यालय काठमाडौँको त्रिपुरेश्वरमा रहेको एक उत्कृष्ट सामुदायिक विद्यालय हो। वि.सं. २००३ साल माघ १९ गते स्थापना भएको यस विद्यालयमा हाल कक्षा १ देखि १२ सम्म ४ हजार विद्यार्थी अध्ययनरत छन्। १३५ शिक्षक तथा कर्मचारीहरू कार्यरत छन्। नियमित रूपमा उच्च शैक्षिक नतिजा दिने यो विद्यालयले वि.सं. २०७४ र २०७५ मा निरन्तर राष्ट्रिय शिक्षा पुरस्कार प्राप्त गरिसकेको छ। विद्यालयको गुणस्तरप्रति शिक्षक तथा कर्मचारीहरूमा पनि उच्च विश्वास छ।
२. तरुण माध्यमिक विद्यालय, बालाजु: तरुण माध्यमिक विद्यालय २०३० सालमा स्थापना भएको थियो। स्थापनाको १७ वर्षभित्रै यसले राष्ट्रियस्तरमा चार पटक सर्वोत्तम विद्यालय बन्ने कीर्तिमान राखेको छ भने एक पटक दोस्रो स्थान पनि हासिल गरेको छ। क्षेत्रीय र बागमती प्रदेशस्तरमा पनि पटक–पटक पुरस्कृत भएको यो विद्यालयले २०५८ सालमा पहिलो पटक देशकै नम्बर एक सामुदायिक विद्यालयको रूपमा सम्मान पाएको थियो।
३. ज्ञानोदय माध्यमिक विद्यालय, बाफल: ज्ञानोदय मावि पनि काठमाडौँको एक उत्कृष्ट सामुदायिक विद्यालय हो। २०२९ सालमा स्थापना भएको यो विद्यालय २०३६ सालमा माध्यमिक विद्यालयको रूपमा स्वीकृत भएको थियो। हाल चार हजारप्रति हाराहारी विद्यार्थी अध्ययनरत यो विद्यालय विद्यार्थी संख्या र शैक्षिक गुणस्तर दुवैमा देशकै अग्रणी सामुदायिक विद्यालयमध्ये एक मानिन्छ।
४. त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय, ललितपुर: त्रिपद्म विद्याश्रम माध्यमिक विद्यालय ललितपुरको पुल्चोकमा अवस्थित एक प्रथम श्रेणीको सामुदायिक विद्यालय हो। वि.सं. २००४ मा स्थापना भएको यो विद्यालय नेपालका पुराना र अग्रणी सामुदायिक विद्यालयहरूमध्ये एक हो।
५. मेधा माध्यमिक विद्यालय, भक्तपुर: भक्तपुर नगरपालिकाको तेखापुखुमा रहेको मेधा माध्यमिक विद्यालय सामुदायिक शिक्षाको क्षेत्रमा उत्कृष्ट नमुनाको रूपमा चिनिने विद्यालय हो।
६. भानु माध्यमिक विद्यालय, रानीपोखरी: यो विद्यालय दरबार हाई स्कूलको नामले परिचित छ। वि.सं. १९१० सालमा स्थापना भएको यो विद्यालय नेपालकै पहिलो अंग्रेजी माध्यममा पढाइ हुने विद्यालयको रूपमा थापाथलीस्थित दरबारमा सुरु भएको थियो।
७. श्रम राष्ट्रिय माध्यमिक विद्यालय, कुमारीगाल: काठमाडौँ महानगरपालिका–७ कुमारीगालस्थित श्रम राष्ट्रिय माध्यमिक विद्यालय साँघुरो भौतिक पूर्वाधार भएता पनि उत्कृष्ट शैक्षिक नतिजा दिने सामुदायिक विद्यालय हो।
८. महेन्द्र राष्ट्रिय माध्यमिक विद्यालय, बालुवाटार: महेन्द्र राष्ट्रिय विद्यालय सन् १९५६ मा खुला मैदानमा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो।




