Skip to main content

सभापति गगन थापाले पार्टीको गौरवशाली इतिहास संरक्षणमा जोड दिए

२० वैशाख, काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीको गौरवशाली इतिहास, मूल्यमान्यता र पुराना नेताहरूको योगदानलाई संस्थागत रूपमा संरक्षण गर्नुपर्नेमा जोड दिएका छन्। शनिबार नेता दमन पाख्रिनको जीवनीमा आधारित पुस्तक विमोचन तथा स्मृति कार्यक्रममा सम्बोधन गर्दै सभापति थापाले समाजमा फैलिएको ‘पुरानो हुनु भनेको खराब हुनु हो’ भन्ने धारणा राष्ट्र र समाजका लागि हानिकारक हुने बताए।

‘पुरानोलाई थोत्रो वा खराब मान्ने र नयाँलाई मात्र राम्रो मान्ने प्रवृत्तिले समाजको अनुभव र विवेकलाई नष्ट गर्छ,’ सभापति थापाले भने, ‘यदि नयाँ पुस्ताले आफ्नो इतिहास, संस्कृति र पुर्खाको योगदानमा गर्व गर्न छाड्यो भने राष्ट्रको अस्तित्व नै संकटमा पर्न सक्छ।‘ थापाले नेपाली कांग्रेसको विरासत दमन पाख्रेल, दुर्गानन्द झा, रामनारायण मिश्रजस्ता योद्धा र विद्रोहीहरूको बलिदानीपूर्ण इतिहासमा आधारित रहेको उल्लेख गर्दै यसको संरक्षण गर्ने मुख्य जिम्मेवारी पार्टीकै भएको स्पष्ट पारे।

पार्टीको आन्तरिक सुदृढीकरणका विषयमा बोल्दै सभापति थापाले सार्वजनिक पदमा रहेका कांग्रेसका प्रतिनिधिहरूलाई सुशासन कायम गर्न निर्देशन दिए। पार्टी सञ्चालनका लागि कसैले पनि नेता वा पार्टीको खातामा अवैध रकम जम्मा गर्नु नपर्ने र लेभी प्रणालीबाटै पार्टी चल्नुपर्नेमा उनको जोड थियो। ‘स्थानीय तहदेखि प्रदेश सरकारसम्म जिम्मेवारीमा रहेका कुनैपनि व्यक्तिले एक रुपैयाँ पनि आफ्नै अनियमित रूपमा खर्च गरेको कुरा स्वीकार्य हुँदैन। सुशासनका सन्दर्भमा पार्टीले शून्य सहनशीलताको नीति लिनेछ,’ उनले भने।

सभापति थापाले आगामी हप्तादेखि सातै प्रदेशको भ्रमण गर्ने र प्रदेश तथा स्थानीय सरकारका प्रमुखहरूसँग नीति, कार्यक्रम, बजेट र सुशासनका विषयमा छलफल गर्ने जानकारी दिए। सातै प्रदेशका स्थानीय सरकारका प्रतिनिधिलाई बोलाएर अर्थतन्त्रको वर्तमान संकट र प्रदेशका प्राथमिकताहरूको बारेमा पार्टीले ठोस संवाद गर्ने उनको भनाइ थियो। पार्टीभित्र बृहत् एकताको आवश्यकता औँल्याउँदै सभापति थापाले नेतृत्वको हैसियतले सबैलाई समेट्न आफू उदार र लचिलो हुन तयार रहेको बताए। ‘घरभित्रका साथीहरूलाई मात्र होइन, कांग्रेसबाहिर रहेको ठुलो जमात र नयाँ पुस्तालाई पनि पार्टीमा जोड्नुपर्नेछ,’ उनले थपे, ‘८० वर्षका वृद्धदेखि २५-३० वर्षका युवाहरूसम्मलाई उचित स्थान दिएर कांग्रेसलाई सबै जाति, समुदाय र उमेर समूहको साझा पार्टी बनाउनु हाम्रो प्राथमिकता हो।’ विभिन्न नेताहरूको नाममा स्थापित प्रतिष्ठानहरूलाई व्यवस्थित बनाउन पार्टीले नै विशेष पहल गर्ने उनले प्रतिबद्धता व्यक्त गरे।