सिरहामा छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध प्रशासनलाई ज्ञापनपत्र बुझाइयो

सरकारले सिरहाको बरियारपट्टीस्थित छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णयविरुद्ध स्थानीयवासी तथा व्यवसायीहरूले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। स्थानीयवासी र व्यवसायीहरूले २४ वैशाखमा पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गरी सरकारविरुद्ध प्रदर्शन गरिएको थियो। जिल्ला प्रशासन कार्यालयले बालबालिकालाई राजनीतिक उद्देश्यका लागि आन्दोलनमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गर्दै उल्लंघन भए कडा कारबाहीको चेतावनी दिएको छ।
सरकारको उक्त निर्णयले सिरहाको बरियारपट्टीका सीमावर्ती क्षेत्रको व्यापार, राजस्व संकलन तथा स्थानीय आर्थिक गतिविधिमा प्रत्यक्ष असर पर्ने हुँदा स्थानीयवासी तथा व्यवसायीहरूले ज्ञापनपत्र मार्फत विरोध प्रकट गरेका छन्।
छोटी भन्सार कार्यालय बन्द गर्ने निर्णयको विरोध स्वरूप बिहीबार स्थानीयहरूले पाँच घण्टा हुलाकी मार्ग अवरुद्ध गरी सरकारविरुद्ध प्रदर्शन गरेका थिए। बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोष महतोले उक्त निर्णयविरुद्ध भोलि शुक्रवारदेखि चरणबद्ध आन्दोलन सञ्चालन गर्ने संकेत दिएका छन्।
उनका अनुसार २५ वैशाख बिहान ७ बजेदेखि ११ बजेसम्म सडक चक्काजाम गर्ने, २६ वैशाखमा र्यालीसहित कोणसभा गर्ने, २७ वैशाखमा दिनभर बजार बन्द र मासाल जुलुस प्रदर्शन गर्ने र २८ वैशाखदेखि अनिश्चितकालीन आमहड्तालका लागि बृहत् छलफल गरिने छ। आन्दोलनमा सहभागी स्थानीयवासी तथा व्यवसायीहरूले बिहीबार बिहान ८:३० बजेदेखि बरियारपट्टी गाउँपालिका–३ स्थित बरियारपट्टी चोक सडकको बीच भागमा बेन्च राखेर हुलाकी राजमार्ग अवरुद्ध गरेका थिए।
सडक अवरुद्ध हुँदा पूर्व–पश्चिम आवागमन प्रभावित बनेको थियो। यसैबीच जिल्ला प्रशासन कार्यालय सिरहाले राजनीतिक उद्देश्यका लागि बालबालिकालाई आन्दोलन, हड्ताल, बन्द, चक्काजाम, धर्ना वा जुलुसमा प्रयोग नगर्न सार्वजनिक सूचना जारी गरेको छ। सहायक प्रमुख जिल्ला अधिकारी चेतराज बरालद्वारा जारी सूचनामा बालबालिका सम्बन्धी ऐन, २०७५ को दफा ६६(२)(६) अनुसार राजनीतिक उद्देश्य पूर्तिका लागि बालबालिकाको प्रयोग कानुनविपरीत रहेको उल्लेख गरिएको छ। प्रशासनले सूचनाको उल्लंघन गरी बालबालिकालाई आन्दोलनमा प्रयोग गरेको पाए कडा कानुनी कारबाही गरिने चेतावनी दिएको छ।





