बिचुटेन डेटा भोल्टद्वारा नेपालमा पहिलो हाईपरस्केल डेटा सेन्टर निर्माण घोषणा

बिचुटेन डेटा भोल्टले नेपालमा पहिलो पटक टियर–४ स्तरको हाईपरस्केल डेटा सेन्टरको निर्माण गर्ने घोषणा गरेको छ। यो डेटा सेन्टर काठमाडौं र वीरगञ्जमा स्थापना गरिनेछ र सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने लक्ष्य राखिएको छ। कम्पनीले ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्दै नेपालको डिजिटल सार्वभौमिकता र सुरक्षित भविष्य निर्माण गर्ने उद्देश्य लिएको बताएको छ।
नेपालका लागि यो परियोजना नेपाली उद्यमी नवीन अग्रवाल, मीन अग्रवाल (फेयर ग्रुप), अनुज कियाल (कियाल ग्रुप), विशालकुमार जाटिया र शरद गोयलको नेतृत्वमा अघि बढाइएको छ। कम्पनीले नेपालको डिजिटल पूर्वाधारलाई विश्वस्तरमा पुर्याउने तथा देशको डेटा सुरक्षालाई बलियो बनाउने प्रतिबद्धता जनाएको छ।
अन्तर्राष्ट्रिय स्तरको यो परियोजनाले वर्षभरिमा २६ मिनेटभन्दा कम प्राविधिक अवरोध हुने र ९९.९९५ प्रतिशत अपटाइम सुनिश्चित गर्ने दाबी गरेको छ। यो परियोजना काठमाडौं र वीरगञ्जमा दुईवटा रणनीतिक स्थानमा निर्माण गरिनेछ। सुरुमा २४० किलोवाट क्षमताबाट सुरु गरिने यसलाई सन् २०३० सम्म ५ मेगावाटसम्म विस्तार गर्ने योजना रहेको छ। प्रविधि र विशेषज्ञताका लागि भीभीडीएन, गुगल क्लाउड, एएमडी र माइक्रोनजस्ता प्रमुख प्रविधि कम्पनीहरूसँग रणनीतिक साझेदारी गरिएको छ।





