काठमाडौँमा अवतरण गरेको टर्किश एअरलाइन्सको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित

टर्कीको राजधानी इस्तानबुलबाट काठमाडौँको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको टर्किश एअरलाइन्सको जहाजको चक्कामा आगो लागेको छ। जहाजमा रहेका सबै यात्रु र चालक दलका सदस्यहरू सुरक्षित रहेको अधिकारीहरूले जानकारी दिएका छन्।
नागरिक उड्डयन प्राधिकरणका निमित्त महानिर्देशक देवचन्द्र लाल कर्णले घटनाबारे जानकारी दिँदै भने, “टर्किश एअरलाइन्सको जहाजको ब्रेकमा हाइड्रोलिक ईन्धन चुहिएको देखियो। यसले धुवाँ निक्लियो र आगो लागेको थियो। अग्नि नियन्त्रकहरूले तुरुन्तै आगो निभाएका छन्। यात्रु र चालक दलका सदस्यहरूलाई विमानबाट सुरक्षित रूपमा बाहिर निकालिएको छ।”
उनले थपे, “जहाजलाई पनि सुरक्षित ठाउँमा सारिएको छ। यात्रुको सामान निकाल्ने कार्य जारी छ। विमानस्थलका हवाई उडानहरूमा हाल कुनै अवरोध छैन। सबै कुरा अहिले सामान्य छ।” जहाजमा २७३ जना यात्रु र चालक दलका सदस्य सहित २८४ जना सवार थिए। इस्तानबुलबाट आएको जहाज बिहान ६ बजेर ३६ मिनेटमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको थियो। जहाजमा अन्य कुनै क्षति पुगेको छैन।





