Skip to main content

बाजुरामा भिरबाट खसेरी ढुंगाले वडा सदस्यको मृत्यु

२९ वैशाख, काठमाडौं । बाजुरा जिल्लाको बुढीगंगा नगरपालिकामा भिरबाट खसेको ढुंगाले एक महिला वडा सदस्यको मृत्यु भएको छ। मृतक बुढीगंगा–३ की वडा सदस्य ३७ वर्षीय कल्पनादेवी थापा रहेको जिल्ला प्रहरी कार्यालय बाजुराले पुष्टि गरेको छ। घटना साँझ साढे पाँच बजेतिर भएको जिल्ला प्रहरी कार्यालय बाजुराका सूचना अधिकारी इन्स्पेक्टर नरेशबहादुर शाहीले जानकारी गराए।

शाहीका अनुसार, बुढीगंगा–३ गुइँगाडकी वडा सदस्य थापा बुढीगंगा नगरपालिका–६ को फालासैन बजारबाट पैदल घर फर्कदै गर्दा भिरबाट खसेको ढुंगाले उनलाई चोट पुगेको थियो। उक्त ढुंगाले उनलाई धकेलेर पैदल बाटोबाट करिब ५० मिटर तल सडकसम्म लडाएको स्थानीयले प्रहरीलाई जानकारी दिएको इन्स्पेक्टर शाहीले बताए। यस क्रममा वडा सदस्य थापाको घटनास्थलमै मृत्यु भएको उनले थप जानकारी दिए। अहिले प्रहरी टोली घटनास्थलमा पुगेर अनुसन्धान गरिरहेको छ।