
३० वैशाख, काठमाडौं। नेपाल इन्भेस्टमेन्ट मेगा बैंक (एनआईएमबी)ले आफ्नो प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डेलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धानका लागि नियन्त्रणमा लिएको विषयमा विभिन्न मिडियामा प्रकाशित समाचारप्रति गम्भीर ध्यानाकर्षण व्यक्त गरेको छ। बैंकले बुधबार जारी गरेको विज्ञप्तिमा जनाइएको छ कि सीआईबीले सीईओ पाण्डेलाई ऋणी स्मार्ट टेलिकम प्रालिको सम्पत्ति लिलाम बिक्री गरेको आरोपमा नियन्त्रणमा लिएको हो।
बैंकको भनाइअनुसार, लिलाम बिक्री गरिने दूरसञ्चार सेवासँग सम्बन्धित विभिन्न उपकरणहरू सहितका सामग्री जडान भएका घरजग्गाका धनीहरूले स्मार्ट टेलिकमलाई बुझाउनुपर्ने बाँकी घर बहाल र विद्युत् महसुल अझै भुक्तान नगरेको विषयमा अहिले अनुसन्धान जारी छ। एनआईएमबीले कर्जा असुली प्रक्रियाअनुसार उक्त कारबाही अगाडि बढाइएको र आवश्यक कागजात तथा विवरण समयमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेको छ।
एनआईएमबीले ३ असोज २०८२ मा ऋणी स्मार्ट टेलिकमसँग सम्बन्धित विभिन्न उपकरण र सामग्रीहरूको लिलामी सूचना प्रकाशित गरेको थियो। लिलाम बिक्री बाट प्राप्त कुल ४ अर्ब ६० करोड रुपैयाँ मध्ये ४ अर्ब २२ करोड सहवित्तीयकरण कर्जा सुविधा चुक्ता भुक्तान गरिएको र बाँकी ३८ करोड ‘अर्नेस्ट मनी अक्सन एकाउन्ट’मा रोक्का गरिएको जानकारी पनि बैंकले दिएको छ। बैंकले अनुसन्धान प्रक्रियाले दैनिक कार्य सञ्चालनमा कुनै नकारात्मक प्रभाव नपर्ने विषयमा सरोकारवालाहरुलाई विश्वस्त समेत बनाएको छ।





