
३१ वैशाख, काठमाडौं । बालअधिकारकर्मीहरूले कानूनी रूपमा विवाहको न्यूनतम उमेर २० वर्ष कायम राख्न आग्रह गरेका छन्। बालबालिकाको शिक्षा, स्वास्थ्य र समग्र विकासमा नकारात्मक असर पर्ने भन्दै विवाहको उमेर १८ वर्ष बनाउने प्रस्तावलाई रोक्न माग गरिएको छ। बालबालिका शान्ति क्षेत्र राष्ट्रिय अभियान (सिजप) द्वारा आयोजित ‘विवाह २० वर्ष पारि अभियान’ अन्तर्गत सञ्चारकर्मीहरूको भूमिका विषयक छलफल कार्यक्रममा वक्ताहरूले विवाहको न्यूनतम उमेर २० वर्षभन्दा कम नहुने तथ्याङ्क र तर्कहरू प्रस्तुत गरे।
राष्ट्रिय बालअधिकार परिषद्का पूर्वकार्यकारी निर्देशक तारक धितालले विवाहको उमेर घटाउँदा शैक्षिक, मानसिक, आर्थिक, सामाजिक र प्रजनन स्वास्थ्यमा गम्भीर नकारात्मक प्रभाव पर्ने विभिन्न अध्ययनहरूले पुष्टि गरेको जानकारी दिएका छन्। उनले चीन, दक्षिण कोरिया र भारत जस्ता देशहरूमा पनि कानुनी विवाहको न्यूनतम उमेर २० वर्ष वा सोभन्दा माथि नै रहेको उदाहरण पेश गरे। धितालले नेपाल सरकारले जारी गरेको बालविवाह अन्त्यसम्बन्धी रणनीति २०७२ लाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न संघीय सरकार, प्रदेश सरकार, स्थानीय सरकार, निजी क्षेत्र र सञ्चारकर्मीहरूले आ–आफ्नो भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिएका छन्।
नेपालको संविधानको धारा ३९ अन्तर्गत बालबालिकालाई बालविवाह गर्न बाध्य बनाउन नपाइने व्यवस्था छ भने मुलुकी अपराध संहिता २०७४ को दफा १७३ ले २० वर्ष नपुगी गरिने विवाहलाई दण्डनीय अपराध मानिएको छ। सिजपका अध्यक्ष तिलोत्तम पौडेलले कम उमेरमा विवाह गरे बालविवाह घट्ने तर्क गलत रहेको बताए। उनले कम उमेरमा विवाह गरी सन्तान जन्माउँदा जन्ममृत्यु दर बढ्ने जोखिम रहेको पनि बताए। केटा र केटी दुवैको सहमति भएको २० वर्ष मुनिको विवाहलाई मान्यता दिनुपर्ने सोच पनि गलत रहेको उनको भनाइ छ।




