Skip to main content

राष्ट्रिय युवा संघ नेपालको १० किमी एनवाईएफए रन शनिबार सम्पन्न हुँदै

राष्ट्रिय युवा संघ नेपालको ३७ औं स्थापना दिवसको अवसरमा जेठ १ गते काठमाडौंमा ‘१० किमी एनवाईएफए रन’ आयोजना गरिने छ। यो दौड त्रिपरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु भई तिनकुने फन्को गरेर पुनः दशरथ रंगशालामा समाप्त हुनेछ। विजेताले नगद ५० हजार रुपैयाँ पुरस्कार पाइनेछ भने शीर्ष पाँच खेलाडीलाई विभिन्न प्रमाणपत्र र पुरस्कार प्रदान गरिनेछ। करिब एक हजार धावकहरूको सहभागी हुने अपेक्षा गरिएको छ।

संघका प्रवक्ता निरोज पौडेलले ‘१० किमी एनवाईएफए रन’ को सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने नारासहित युवाहरूलाई खेलकुद, अनुशासन, स्वास्थ्य, सकारात्मक सोच र सामाजिक उत्तरदायित्वसँग जोड्ने उद्देश्यले यो दौड आयोजना गरिएको संघले जनाएको छ।

नेपाल एथ्लेटिक्स संघको प्राविधिक सहयोगमा हुने यो रन साढे ६ बजे त्रिपरेश्वरस्थित दशरथ रंगशालाबाट सुरु हुनेछ। नेपालका कीर्तिमानी धावक बैकुण्ठ मानन्धरले १० किमी रनको उद्घाटन गर्नेछन्। शीर्ष पाँच स्थानमा आउने खेलाडीलाई नगद पुरस्कार प्रदान गरिनेछ, जसमा दोस्रो स्थानले ४० हजार, तेस्रो स्थानले ३० हजार, चौथोले २० हजार र पाँचौंले १० हजार रुपैयाँ पुरस्कार पाउनेछन्। यो खुल्ला प्रतियोगिता भएकाले राष्ट्रिय स्तरका खेलाडीदेखि राष्ट्रिय युवा संघका सदस्यसम्म सहभागी हुनेछन्।