Skip to main content

पूर्णबहादुर खड्काको विश्लेषण: गगन थापा सम्पूर्ण कांग्रेस सभापति बन्न सकेनन्, सानेपामा सीमित रहिए

२ जेठ, काठमाडौं । नेपाली कांग्रेसका निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले गगन थापा नेपाली कांग्रेसको सम्पूर्ण सभापति बन्न नसकेको उल्लेख गरेका छन्। शनिबार कर्णाली प्रदेशको सुर्खेतमा आयोजित जनमञ्चमा ‘नेपाली कांग्रेस बृहत्तर एकता र भावी कार्यदिशा’ विषयक विचार गोष्ठीमा उनले यस्तो अभिव्यक्ति दिएका थिए।

नेता खड्काले आफूलाई भेट्न आएका सभापति थापालाई समग्र पार्टीको सभापति बन्न सुझाव दिएको तर हालसम्म थापा केवल सानेपाको मात्र सभापति भएको बताएका छन्। ‘पार्टी विभाजनको बाटोमा छ, म त्यो बाटोमा जान हुँदैन भन्छु,’ केही दिनअघि थापा र उपसभापति विश्वप्रकाश शर्मासँगको भेटमा आफूले भनेका कुरा सम्झँदै उनले भने, ‘तर पार्टी मिलाउने कि फुटाउने तपाईंहरूको जिम्मेवारी हो भन्ने मेरो कुरा हो।’

उनका अनुसार, अदालतले जिताएपछि आफूहरूले पनि थापालाई सभापति मानेको बताए। विशेष महाधिवेशनकै कारण कांग्रेस चुनावमा पराजित भएर ३८ सिटमा सीमित हुन पुगेको अवस्था आएको बताए। ‘विशेष महाधिवेशनले कांग्रेसलाई ३८ सिटमा सीमित गर्‍यो र रास्वपा दुई तिहाई नजिक पुग्यो। त्यो भएन भने देशको परिस्थिति पूरै फरक हुने थियो’, उनले भने।