बुटवल उपमहानगरका कर्मचारीद्वारा गाईवस्तु लखेट्दै कुटपिट गर्ने भिडियो सामाजिक सञ्जालमा भाइरल

हालै सामाजिक सञ्जालमा एउटा यस्तो भिडियो भाइरल भएको छ जसमा गाईवस्तुहरूमाथि निर्दयी तरिकाले कुटपिट गरिरहेको देखिन्छ। सडकमा आएका ती गाईवस्तुलाई मान्छेको भीडले लखेट्दै कुटिरहेको दृश्यमा एउटा सानो बाछोको खुट्टा भाँचिएको पनि देखिन्छ। ती पशुहरू भाग्न खोजिरहेका छन्। अर्को गोरुले भीडबाट भाग्न खोज्दा त्यहाँ रहेका मान्छेहरूले लठ्ठीले चपेटिरहेका छन्, मानौं त्यो कुनै निर्जीव वस्तु हो।
उत्तेजित भएर गाईवस्तुलाई कुट्ने यो क्रूर व्यवहारलाई देखेर दर्शकहरूको भीड पनि देखिन्छ। केहीले मोबाइलमा भिडियो खिचिरहेका छन् भने सुरक्षाकर्मी पनि यस्तो भेटलाई मनोरञ्जनका रूपमा हेरिरहेका छन्। अवोध पशुप्राणीमाथि यो ज्यादतीलाई कुनै रूपमा रोक्ने प्रयत्न देखिदैन। सामाजिक सञ्जालमा यो भिडियोलाई लिएर तीव्र आलोचना भैरहेको छ। बुटवल नगरपालिकाका कर्मचारीहरूको यो कृत्यलाई धेरैले ‘आपराधिक’ कार्यको रूपमा हेरेका छन्।
भिडियोमा उपमहानगरका प्रमुख खेलराज पाण्डेले गाईगोरु लखेट्ने अभियान सञ्चालन गरिरहेको बताएका छन्। उनले स्थानीयवासीलाई बिहान ७ बजेदेखि गाईवस्तु लखेट्न आह्वान गरेका छन् र यो अभियान आगामी ७ गतेसम्म निरन्तर जारी रहने जानकारी दिएका छन्। बेवारिसे गाईवस्तुका कारण सडकमा अवरोध भए तापनि यसलाई व्यवस्थापन गर्दा पशुहरूलाई कुट्ने होइन भन्ने धेरैले तर्क राखेका छन्। उपभोगका लागि अयोग्य भएकोले सडकमा छाडिएका ती पशुहरूको उचित व्यवस्थापन गर्न र क्रूर व्यवहार नगर्न सुझाव दिइएको छ।
