Skip to main content

अव्यवस्थित ब्यानरले आरआर गार्डेनको सौन्दर्यमा नकारात्मक प्रभाव

तीनजुरे–मिल्के–जलजले क्षेत्रस्थित आरआर गार्डेनको प्रवेशद्वारमा राखिएका ब्यानरहरूले वातावरणीय सन्तुलन तथा सौन्दर्यमा नकारात्मक प्रभाव पारेका छन्। स्थानीय वासी छिरिङ लामाले आरआर गार्डेनको आकर्षण घटेको भन्दै ब्यानर हटाउन आवश्यक रहेको र सम्बन्धित निकायलाई ध्यान दिन आग्रह गरेका छन्। उनले भने, “आरआर गार्डेन गुराँसको राजधानीको मुख्य आकर्षण र प्रवेशद्वार हो, पछिल्लो समय अत्यधिक ब्यानर प्रयोगले सौन्दर्य घटेको कारण हटाउनु आवश्यक छ।”

गेटको नजिक राखिएका ब्यानरहरूले जैविक विविधतालाई समेत प्रभाव पारेको र गार्डेनको आकर्षण घटाएको छ। चैते सामुदायिक वनका अध्यक्ष इन्द्रबहादुर खड्काले ब्यानर राख्ने कार्यमा केही नियन्त्रण पहल भए पनि पर्याप्त नभएको बताएका छन्। उनले यस सौन्दर्यस्थललाई सुन्दर बनाउन योजना बनाइएको र चाँडै उक्त योजना कार्यान्वयनमा ल्याइने जानकारी दिएका छन्।

तीनजुरे-मिल्के-जलजले क्षेत्रलाई दीर्घकालीन रूपमा संरक्षण गर्न योजनाबद्ध र जैविक विविधता संरक्षण अनिवार्य भएको माग उठ्न थालेको छ। स्थानीयहरूले सार्वजनिक स्थानमा प्रचार सामग्री राख्न स्पष्ट मापदण्ड कायम गर्नुपर्ने र निश्चित स्थान तोकेर मात्र ब्यानर राख्ने व्यवस्था आवश्यक रहेको सुझाएका छन्।

हाल आरआर गार्डेन साधारण भेटघाट, घुम्न र फोटो तस्बिर खिच्नका लागि लोकप्रिय स्थान बन्न पुगेको छ। हरियाली वातावरण, खुला क्षेत्र र सहज परिवेशका कारण दैनिक आगन्तुकको संख्या बढ्दैछ। तर गार्डेन परिसरमा अनियन्त्रित रुपमा राखिएका फ्लेक्स र ब्यानरहरूले क्षेत्रलाई अव्यवस्थित देखाएको भन्दै स्थानीयहरूले गुनासो गरेका छन्।