Skip to main content

प्लाटिनमविरही सस्तो हाइड्रोजन इन्धन उत्पादनका लागि नयाँ प्रविधि विकास

वैज्ञानिकहरूले प्लाटिनमविना सस्तो र दीगो क्याथोडबाट स्वच्छ र नवीकरणीय हाइड्रोजन इन्धन उत्पादन गर्ने नयाँ प्रविधि विकास गरेका छन्। नयाँ प्रविधिमा रेनियम फस्फाइड र मोलिब्डेनम फस्फाइडको मिश्रणबाट तयार गरिएको क्याथोडले उच्च विद्युत् घनत्वमा १,००० घण्टासम्म निरन्तर काम गरेको छ। यस प्रविधिले स्वच्छ ऊर्जा लागत घटाउन र औद्योगिक स्तरमा ठूलो मात्रामा हाइड्रोजन उत्पादनमा सहयोग पुर्‍याउने विश्वास गरिएको छ। ५ वैशाख, काठमाडौं।

वैज्ञानिकहरूले महँगो प्लाटिनम धातु बिना स्वच्छ र नवीकरणीय हाइड्रोजन इन्धन उत्पादन गर्ने एउटा सस्तो र टिकाउ प्रविधि पत्ता लगाएका छन्। ‘वासिङ्टन युनिभर्सिटी इन सेन्ट लुइस’ का अनुसन्धानकर्ताहरूले विकास गरेको यस नयाँ प्रविधिले भविष्यमा स्वच्छ ऊर्जाको लागत घटाउन र व्यावसायिक रूपमा ठूलो परिमाणमा उत्पादन गर्न महत्वपूर्ण सहयोग पुर्‍याउने अनुमान गरिएको छ।

सौर्य वा वायु ऊर्जा जस्ता नवीकरणीय स्रोतबाट बिजुली निकालेर पानीलाई हाइड्रोजन र अक्सिजनमा टुक्र्याउने प्रविधिलाई ‘वाटर इलेक्ट्रोलाइजर’ भनिन्छ। यस प्रक्रियाबाट उत्पादित हाइड्रोजन पूर्ण रूपमा प्रदूषणरहित र स्वच्छ इन्धनको रूपमा प्रयोग हुन्छ। तर अहिलेसम्म पानी टुक्र्याउने प्रणालीमा ‘प्लाटिनम’ समूहका अत्यन्त महँगो धातुहरू क्याथोडको रूपमा प्रयोग गर्नुपर्ने भएकाले स्वच्छ हाइड्रोजन इन्धन उत्पादनको लागत निकै उच्च थियो।

म्याकेल्भी स्कूल अफ इन्जिनियरिङका प्राध्यापक गैंग वुको नेतृत्वमा रहेको अनुसन्धान टोलीले प्लाटिनमको सट्टा दुईवटा सस्ता फस्फाइडहरू, ‘रेनियम फस्फाइड’ (Re_2P) र ‘मोलिब्डेनम फस्फाइड’ को मिश्रणबाट नयाँ सम्मिश्रित क्याथोड तयार पारेका छन्। यसमा प्रयोग गरिएको रेनियमले क्याथोडको सतहबाट हाइड्रोजनलाई सजिलै बाँध्न र मुक्त गर्न मद्दत गर्छ भने मोलिब्डेनमले क्षारीय इलेक्ट्रोलाइटमा पानीका अणुहरूलाई तीव्र गतिमा टुक्र्याउने काम गर्छ।