दूधको गुणस्तरमा डीडीसीको कडाई, काभ्रेबाट ल्याइएको ३ हजार लिटर दूधमा चिनी मिसावट पाएपछि अनुसन्धान सुरु

सरकारी स्वामित्वको दुग्ध विकास संस्थान (डीडीसी) ले दूध संकलन, गुणस्तर र वितरणमा कडा निगरानी सुरु गरेको छ। पनौतीबाट ल्याइएको ३ हजार २० लिटर अखाद्य दूधमा चिनी मिसाइएको र न्यूनतम मापदण्ड पूरा नभएको पाइएको छ। संस्थानले उक्त दूध बजार पठाउन रोक लगाएर नियन्त्रणमा लिएको र भोलि नष्ट गर्ने जनाएको छ।
५ जेठ, काठमाडौं। बजारमा कम गुणस्तरको दूध पुगेको र उपभोक्ताको भरोसा घटेको गुनासो बढेपछि डीडीसीले गुणस्तर परीक्षणमा कडाई गरेको हो। काभ्रे पनौतीबाट ल्याइएको ३ हजार २० लिटर दूध अखाद्य पाइएपछि डीडीसीले दूधको गुणस्तरमा थप कडाई गरेको छ। पनौतीस्थित चिस्यान केन्द्र (चिलिङ सेन्टर) मार्फत विभिन्न सहकारी र फार्महरूबाट संकलित उक्त दूधको ल्याब परीक्षण गर्दा चिनी मिसाइएको, गन्ध आएको र न्यूनतम मापदण्ड समेत पूरा नभएको डीडीसीका महाप्रबन्धक डा. शरण पाण्डेले बताए।
गुणस्तरहीन प्रमाणित भएपछि संस्थानले उक्त दूध बजार पठाउन रोक लगाएर नियन्त्रणमा लिएको उनले जानकारी दिए। महाप्रबन्धक पाण्डेले संस्थानको उत्पादनप्रति उपभोक्ताको भरोसा बढाउन र बजारमा स्वस्थ दूध पठाउन गुणस्तरमा कडाई गरिएको बताए। ‘हाम्रो डीडीसीप्रति उपभोक्ताहरूको भरोसा घट्ने र कम गुणस्तरका दूध संकलन गरेर बजारमा पठाउने भएको भन्ने आरोपलाई हामीले कडाईका साथ जाँच गरिरहेका छौं,’ महाप्रबन्धक पाण्डेले भने।
यति ठूलो परिमाणमा अखाद्य दूध संकलन हुनुमा संस्थानकै कर्मचारी वा संकलकको मिलेमतो हुन सक्ने आशंकामा डीडीसीले आन्तरिक अनुसन्धान पनि अघि बढाएको छ। ‘यो बदमासी कहाँबाट भयो भनेर हामी विस्तृत अनुसन्धान गर्दैछौं,’ उनले भने, ‘यसमा हाम्रा कर्मचारीहरूको सहभागीता छ कि छैन भनेर पनि अनुसन्धान गरिरहेका छौं, दोषी देखिए कारबाही अघि बढाइनेछ।’ डीडीसीले कम गुणस्तरका दूध ल्याउने प्रवृत्ति रोक्न आगामी दिनमा परीक्षण अझ कडा बनाउँदै लैजाने महाप्रबन्धक पाण्डेले स्पष्ट पारे।
