
फिर्केखोलाको खोलाघरभित्र हाल १६०भन्दा बढी संरचनाहरू निर्माण भएका छन्। पोखरा महानगरपालिकाले फिर्केखोला खोलाघर (सीमा) भित्र रहेका सबै स्थायी तथा अस्थायी संरचनाहरूलाई आगामी जेठ ९ गतेभित्र आफैंले हटाउन सार्वजनिक सूचना जारी गरेको छ। तोकिएको समयसीमा भित्र संरचना हटाइएन भने महानगरपालिकाले स्वयं ती संरचनाहरू भत्काउने र त्यसको खर्च सम्बन्धित व्यक्ति वा संस्थाबाटै वसुली गर्ने चेतावनी दिएको छ।
महानगरपालिकाका अनुसार, वडा नम्बर १८ को अँधेरीकुनादेखि सुरु भएर वडा नम्बर २, ४, ५, ७, ८, १७ हुँदै वडा नम्बर ६ को गाईघाटसम्म फैलिएको फिर्केखोलाको क्षेत्रफलमा अतिक्रमण गरी विभिन्न भौतिक संरचना निर्माण गरिएको छ। यो खोलाघर फेवातालमा मिसिन्छ। महानगरपालिकाका प्राविधिक टोलीले पूर्वतर्फ पोल हालेर तोकेको सिमानाभित्र पर्ने संरचनाहरू हटाउन सुरु गरेका छन्। यसअघि महानगरपालिकाले २०८० कात्तिक १० गते ती संरचनाहरू हटाउन ३५ दिने सूचना समेत जारी गरेको थियो।
सूचनाविरुद्ध उच्च अदालत पोखरामा मुद्दा दायर गरिएको थियो। तर सम्मानित उच्च अदालतले सुनुवाइ गर्दै महानगरपालिकाको कदमलाई मान्यता दिंदै सूचना उपर उत्प्रेषण र परमादेश जारी गर्न आवश्यक नठानेपछि महानगरपालिकालाई अतिक्रमण हटाउन कानुनी बाटो खुल्यो। अदालतको आदेश र महानगरपालिकाले गत वैशाख ४ गते जारी गरेको सूचनालाई आधार मानेर यो अन्तिम सार्वजनिक सूचना जारी गरिएको हो। सम्बन्धित व्यक्तिबाटै आवश्यक खर्च वसुली गरिनेछ। महानगरले जेठ ९ गतेभित्र व्यक्ति वा संस्थाहरूलाई आफ्ना संरचनाहरू स्वयं हटाउन आग्रह गरेको छ। यदि उक्त मितिभित्र संरचना हटाउन नसकेमा महानगरपालिकाले डोजर चलाउनेछ र सो क्रममा लागेको सबै प्राविधिक तथा व्यवस्थापकीय खर्च अतिक्रमणकारी व्यक्ति वा संस्थाबाट कडाइका साथ वसुली गरिनेछ भनेर स्पष्ट पारेको छ।
