Skip to main content

सांसद मल्लले सल्यानमा स्वास्थ्य सेवा संकटप्रति सरकारको ध्यानाकर्षण गराए

६ जेठ, काठमाडौं। नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले सल्यानमा स्वास्थ्य पूर्वाधार, उपकरण र विशेषज्ञ चिकित्सकको अभावले स्वास्थ्य सेवामा गम्भीर संकट आएको बताएका छन् र सरकारले यसबारे ध्यान दिन आवश्यक रहेको जनाए। प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै उनले सल्यानमा स्वास्थ्य सेवा सम्बन्धी विभिन्न समस्या सरकारको ध्यानाकर्षण गराएका छन्।

केही समयअघि सल्यान जिल्ला अस्पतालमा सुत्केरी महिलालाई ‘विशेषज्ञ चिकित्सक उपलब्ध छैन’ भनेर अस्पतालको गेटमै फर्काइएको घटना सार्वजनिक भएको कुरा स्मरण गराउँदै उनले उक्त घटनालाई सल्यानको समग्र स्वास्थ्य समस्याको दुःखद प्रतिबिम्बको रूपमा व्याख्या गरे। उनका अनुसार, जिल्ला अस्पतालमा सात जना विशेषज्ञ चिकित्सकको दरबन्दी भए तापनि हाल एक चिकित्सक मात्रै कार्यरत छन्।

अस्पताल पूर्वाधार विकास कार्य व्यवस्थापकीय कमजोरी, सरकारी उदासीनता र निर्माण व्यवसायीको गैरजिम्मेवारीताका कारण अलपत्र परेको मल्लले बताए। आवश्यक उपकरणको अभावका कारण सामान्य शल्यक्रिया समेत प्रभावित भइरहेको उनको भनाइ छ। उनले प्रत्येक पालिकामा १५ शैयाको आधारभूत अस्पताल बनाउन सरकारद्वारा गरिएको घोषणामध्ये धेरै स्थानमा काम अलपत्र रहेको उल्लेख गरे।

उनले कर्णाली प्रदेशमा दुईपटक विज्ञापन गरेपछि पनि ७६ विशेषज्ञ चिकित्सकको दरबन्दी खाली रहेको तथ्य प्रस्तुत गर्दै यसको जिम्मेवारी कसले लिने भन्ने प्रश्न उठाए। तत्कालका लागि नेपाल सरकारको छात्रवृत्तिमा अध्ययन पूरा गरी फर्किएका विशेषज्ञ चिकित्सकलाई प्रदेश सरकारमार्फत जिल्ला अस्पतालमा खटाउने व्यवस्था गर्न आयोगमार्फत सभामुखमा सरकारको गम्भीर ध्यानाकर्षण गराएका छन्।