Skip to main content

सिन्धुली प्रहरीमा ‘स्मार्ट कन्ट्रोल रुम’ का रुपमा संचालन शुरू

सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षा सुदृढीकरणका लागि ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर-सहायता प्राप्त डिस्प्याच प्रणाली सुरु गरिएको छ। यस प्रणालीको माध्यमबाट ‘१०० एप’ प्रयोग गरी जिल्लाभरिका प्रहरी युनिटहरूलाई तत्काल सूचना पठाउन सकिने छ। स्मार्ट कन्ट्रोल रुमले वास्तविक समय ट्र्याकिङ र कागजी प्रक्रिया बिना अनुसन्धान प्रक्रियालाई सञ्चालन गर्ने अपेक्षा गरिएको छ।

सिन्धुली जिल्लामा सार्वजनिक सुरक्षा क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग गर्दै ‘स्मार्ट कन्ट्रोल रुम’ अन्तर्गत कम्प्युटर-सहायता प्राप्त डिस्प्याच प्रणाली सञ्चालनमा ल्याइएको छ। देशमा जिल्लास्तरमा यस्ता एकीकृत र प्रविधिमा आधारित आपत्कालीन प्रतिकार्य प्रणाली (इमर्जेन्सी रेस्पोन्स सिस्टम) पहिलोपटक लागू गरिएको हो। सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउने उदेश्यका साथ कार्यालय परिसरमा स्मार्ट प्रहरी कन्ट्रोल रुमको उद्घाटन कमलामाई नगरपालिकाका नगर प्रमुख उपेन्द्र कुमार पोखरेल र प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठले संयुक्त रूपमा गरेका थिए।

जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रमुख लालध्वज सुवेदीका अनुसार, स्मार्ट प्रहरी कन्ट्रोल रुममार्फत ‘१०० एप’ प्रयोग गरी जिल्लाभरिका सबै मातहत युनिटहरूमा तुरुन्त सूचना सम्प्रेषण गरिनेछ। यस प्रणालीले सम्बन्धित प्रहरी चौकी र इलाका प्रहरी कार्यालयहरूलाई थप जिम्मेवार बनाउने, सूचना व्यवस्थित रूपमा रेकर्ड हुने र ढिलो सूचना प्राप्त हुने बहाना समाप्त हुने अपेक्षा गरिएको छ।

प्रहरीका अनुसार कार्यालय प्रमुखले एक्सेल फर्म्याटमा विभिन्न रिपोर्ट निकालेर डाटा विश्लेषण गर्न सक्ने, दैनिक गतिविधि र विरोध कार्यक्रमहरूको जानकारी पाउन र खटिएका प्रहरीलाई थप जिम्मेवार बनाउन सजिलो हुनेछ। यस प्रणालीले घटनाको फिल्ड रिपोर्ट सजिलै प्राप्त गर्न मद्दत गर्ने, अपराध अनुसन्धानलाई थप वस्तुनिष्ठ र प्रभावकारी बनाउने साथै कागजी प्रक्रिया बिना नै ‘पेपरलेस’ अवधारणालाई व्यवहारमा उतार्ने विश्वास व्यक्त गरिएको छ।