
७ जेठ, डोल्पा। हिमाली जिल्ला डोल्पाको माथिल्लो क्षेत्रबाट लेक लागेर बिरामी परेका एकजनालाई हेलिकप्टरमार्फत उद्धार गरिएको छ। डोल्पाको उत्तरी क्षेत्रमा पर्ने शे-फोक्सुण्डो गाउँपालिका-३ साल्दाङमा लेक लागेर बिरामी भएका बर्दियाको मधुवन नगरपालिका २ गंगा पटुवा घर भएका करिब ३० वर्षीय चन्द्रबहादुर चौधरीलाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ, जसबारे जिल्ला प्रहरी कार्यालय डोल्पाले जानकारी दिएको छ।
प्रहरीका अनुसार, चौधरी फोक्सुण्डो गाउँपालिकाको नाममा रहेको बा १ ग ३६३६ नम्बरको स्काभेटर मर्मतका लागि जगदम्बा इन्जिनियर कम्पनी ललितपुरबाट मुस्ताङ हुँदै जेठ ३ गते साल्दाङ पुगेका थिए। जेठ ४ गते बिहान करिब ११:३० बजे अचानक उनलाई श्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि साल्दाङ स्वास्थ्य चौकीमा लगिएको थियो। स्थानीय स्वास्थ्य चौकीमा औषधि उपचार प्रभावकारी नहुँदा गाउँपालिका अध्यक्ष धावा सुम्दुक गुरुङको समन्वयमा थप उपचारका लागि मंगलबार नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी प्रदेश अस्पताल सुर्खेत पठाइएको प्रहरीले जनाएको छ।
