Skip to main content

दक्षिण-पूर्वी एशियाका ‘स्क्याम सेन्टर’बाट ६८७ नेपालीहरूको उद्धार

दक्षिण–पूर्वी एशियामा अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन स्क्याम सेन्टरहरूमा फसेका ६८७ जना नेपालीको उद्धार गरिएको छ। यसमध्ये कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ नेपालीलाई स्वदेश फर्काइएको छ। कम्बोडिया सरकारले १२ जनाको जरिवाना मिनाहा गरिसकेको छ भने थप १७२ जनाको मिनाहाको लागि अनुरोध गरिएको छ। ८ जेठ, काठमाडौं।

दक्षिण-पूर्वी एशियाका विभिन्न देशहरूमा गैरकानुनी रूपमा सञ्चालन भइरहेका ‘अनलाइन स्क्याम सेन्टर’बाट ठगिएर फसेका ६८७ जना नेपालीको उद्धार गरिएको छ। परराष्ट्र मन्त्रालयले आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले कम्बोडिया, म्यानमार, लाओस र थाइल्याण्डको सीमा क्षेत्रमै अवैध रुपमा संचालित स्क्याम सेन्टरहरूमा फसेका नेपालीहरूको पहिचान र उद्धार कार्य जारी रहेको जानकारी दिएका छन्।

उनका अनुसार थाइल्याण्ड र म्यानमारस्थित नेपाली नियोगहरूको पहल र सम्बन्धित निकायहरूको समन्वयमा यसअघि ६१६ जना नेपालीलाई उद्धार गरिएको थियो। पछिल्लो दुई हप्तामा थप ७१ जनाको उद्धार गरिएको प्रवक्ता पौडेलले जानकारी दिए। उद्धार गरिएका मध्ये कम्बोडियाबाट ५६२, म्यानमारबाट १११, लाओसबाट ८ र थाइल्याण्डबाट ६ नेपालीलाई स्वदेश पुनः फर्काइएको छ।

प्रवक्ता क्षेत्रीले उक्त क्षेत्रमा अझै धेरै नेपाली फसेको हुन सक्ने अनुमान व्यक्त गर्दै नेपाली दूतावास बैंककको आग्रहमा कम्बोडिया सरकारले हालसम्म १२ नेपालीको जरिवाना मिनाहा गरेको र थप १७२ जनाको मिनाहाका लागि अनुरोध गरिएको बताएको छ। साथै, संगठित अपराध, मानव तस्करी लगायतका विभिन्न मुद्दामा थुनामा भएका नेपालीहरूको रिहाइ तथा उद्धारका लागि बैंककस्थित नेपाली दूतावास मार्फत पहल जारी रहेको छ। म्यानमारमा थुनामा रहेका १८ नेपालीको कैद मिनाहाको लागि पनि पहल भइरहेको र उनीहरूलाई आवश्यक सहयोग प्रदान गरिरहेको मन्त्रालयले जनाएको छ।